काठमाडौँ- नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।
शनिबार हिमालय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका छन्।
ढकालले पार्टीको समस्याबारे पार्टी केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरुलाई जानकारी गराउँदा पनि समस्या सम्बोधनमा चासो नदेखाएपछि पार्टीबाट अलग हुनुपरेको प्रस्टीकरण दिएका छन्।
ढकाल २०७० को संविधान सभा सदस्य समेत हु्न्। ढकालले पार्टी बैठकहरुमा आफूमाथि पार्टीका सचिवलगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको पनि गुनासो गरेका छन्।
‘पार्टी अध्यक्षलाई घेराबन्दी गर्ने, काम गर्न नदिने र गरेका कामहरुलाई जस नदिने प्रवृत्ति जन्मियो, यसबारे केन्द्रका महासचिव र प्रदेश इन्चार्जलाई पनि भनियो। तर समस्या समाधानमा चासो भएन,’ ढकालले भनेका छन्।’


