काठमाडौँ- फागुन १२ देखि पूर्वको झापाबाट सुरु भएको नेकपा(माओवादी केन्द्र)को तराई मधेस जागरण अभियान स्थगित गरी शिर्ष नेताहरू काठमाडौँ फर्किन लागेका छन्।
शनिवार रौतहटमा बसेको शिर्ष नेताहरूको अनौपचारिक बैठकले लौकाहामा सभा गरेर फागुन महिनाभरी तय गरेको ‘जनतासँग माओवादी जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको थियो।
केपी ओली नेतृत्वको जनविरोधी गतिविधि, भ्रष्टाचारको संरक्षणका कारण राजावादीहरू सलवलाएकाले संसद र सडकको मोर्चालाई बलियो बनाउन अभियान स्थगित गरिएको उपमहासचिव मात्रिका यादवले जानकारी दिए।
पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न आइतबार ३ बजे पदाधिकारी बैठक बोलाएको यादवले बताए।
‘केपी ओलीको जनविरोधी गतिविधिका कारण प्रतिगामी शक्तिहरू सलबलाएका छन्। यो सरकारका कारण देश दुर्घटनामा पर्ने खतरा देखियो। हामी अभियानमा मात्रै केन्द्रित हुँदा सदन र सडको मोर्चा प्रभावकारी हुन सकेन। प्रतिगामी शक्तिविरुद्ध सडक र सदनमा प्रभावकारी बनाउन अभियान स्थगित गरिएको हो’, उनले भने, ‘आगामी अभियानको स्वरुप परिवर्तन हुन्छ। बिचबिचमा ब्रेक गरेर बाँकी अभियान चलाउँछौं।’
यादवले राजावादीको गतिविधिबारे खासै छलफल नभएको भन्दै ओली सरकारको जनविरोधी गतिविधिविरुद्ध विपक्षी दलहरू, समाजवादी मोर्चा र सदनलाई प्रभावकारी बनाउन बैठक बोलाएको उनले दाबी गरे।
