काठमाडौँ- काठमाडौँ महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कारबाही गरेको छ । आइतबार पूर्वराजाको स्वागतमा उत्रिएकाहरुको तर्फबाट विभिन्न स्थानमा फोहोर गरिएको र भौतिक क्षति पुर्याएको भन्दै महानगरले १ लाख जरिवाना गराएको हो।
महानगरपालिकाले पार्टीलाई पत्र लेख्दै आइतबार राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको छ।
‘प्रस्तुत बिषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २००१ बमोजिम रु १००,०००(अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’ महानगरले पार्टीमा पठाएको पत्रमा भनिएको छ।


