काठमाडौँ – एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपा सचेतक ज्ञानेन्द्र शाहीलाई नालायक भएको टिप्पणी गरेका छन्।
फेसबुकबाटै राप्रपा सांसद शाहीले लगाएको आरोप खण्डन गर्दै रिमालले ‘मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन।’ लेखेका छन्।
आइतबार पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीको निर्देशनमा राख्न लगाएको आरोप लगाएपछि रिमालले त्यसको जवाफ फर्काएका हुन्।
रिमालले फेसबुकमा लेखेका छन्-
कॉक्रा चोरहरू
कॉक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा
हत्तपत्त अर्काको गालामा बियॉ टॉसी
कुलेलम ठोक्छन् !
दलालहरू-
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् !
डिसइन्फरमेसनको सहारामा मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट भ्रम फैलाएको र शाहीले भ्रमको खेती गर्दै आएका पनि रिमालले आरोप लगाएका छन्। उनले लेखेका छन्- यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ ।
