काठमाडौँ- काठमाडौँको नयाँबानेश्वर मीनभवनस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी)मा समाजवादीले मोर्चामा आवद्ध दलनिकटका विद्यार्थी संयुक्त रूपमा चुनावमा होमिएका छन्।
कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अनेरास्ववियु भने एकल प्रतिस्पर्धाका लागि तयार भएका हुन्।
चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट रविन ओलीले उम्मेदवारी दिएका छन्। ओली एमबीएस अन्तिम सत्रका छात्र हुन्।
काशीराम जैसीले समाजवादी मोर्चाको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका हुन्। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) रहेका छन्।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट विशाल रोकाहा अध्यक्षको उम्मेदवार बनेका छन्।


