काठमाडौँ- नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष जेल सजाय भएको छ। लागुऔषध मुद्दामा जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गुप्तालाई दुई लाख जरिमानासमेतको फैसला गरेको हो।
यो मुद्दामा गत बुधबार फैसला भएपनि बिहीबार सजाय निर्धारण भएको हो। गुप्तासहित सोही पालिकाका नगरप्रहरी रघुनाथप्रसाद धोबीलाई पनि दुई वर्ष कैद र चार लाख जरिमाना हुने फैसला भएको हो। उक्त मुद्दामा धोबी २०७९ असोज २६ देखि पुर्पक्षका लागि थुनामा छन्।
सोही मुद्दामा जोडिएका रामा गुप्ता (रामा साह)र जितेन्द्र पासवानले सफाइ पाएका छन्। गत निर्वाचनमा गुप्ता नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
गुप्ताकै निर्देशनमा धोबीले रामा र जितेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषध राखेर फसाउन खोजेको आरोप जितेन्द्रको परिवारले लगाएको थियो।


