काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कानुन बनाउन लागिएको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार फेसबुकमा स्टाटस पोस्ट गर्दै उनले पूर्वविशिष्टलाई अहिले दिइँदै आएको सुविधा घटाउन माग गरेका हुन्।
‘सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्त्वहरूले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुष्कर्मको प्रयास, पूर्वविशिष्टलाई आजीवन सुविधा,’ उनले भनेका छन्, ‘यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाउ बरु दिइएको सुविधा पनि घटाऊ।’
गृह मन्त्रालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रियसभाका पूर्वअध्यक्षलाई मासिक भत्ता, घर भाडा/घर मर्मत खर्च, सवारीसाधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्नेसहितका सुविधा जीवनभर दिने गरी कानुनको मस्यौदा बनाउने तयारी अघि बढाएको छ। पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक तर्जुमाका लागि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए।
