काठमाडौँ- काठमाडौँमा तीनदिने हिमवत् खण्ड कला–साहित्य–संस्कृतिक सम्मेलन हुने भएको छ।
मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले जातजाति र समुदायबीच सांस्कृतिक आदानप्रदानको अवसर गर्ने उद्देश्यका साथ सभागृहमा हिमवत् खण्ड कला–साहित्य–संस्कृतिक सम्मेलन आयोजना गरेको हो।
सम्मेलनको उद्घाटन सत्रमा भारतको सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ प्रमुख अतिथि छन्।
सम्मेलन आयोजक समितिका संयोजक डा विजय सुब्बाले बहुभाषिक एवं बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै सामाजिक एकता र सद्भावलाई सुदृढ बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए।
सम्मेलनमा नेपालका सातै प्रदेशका साथै भारत, चीन, बंगलादेश, म्यानमार, भुटान तथा थाइल्यान्डबाट आएका प्रतिनिधिबाट लोक संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ।


