काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने बताएका छन्।
बागमती प्रदेश हस्तकला संघको पाँचौ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले सबै क्षेत्र सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरु हुने बताएका हुन्।
‘नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने अवस्था छ। सबै सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरु हुन सक्छन्,’ उनले भने, ‘हामी सबै सकारात्मक हुनुपर्यो। हामी नेपालीहरु झुटो धेरै बोल्ने भयौं, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो। हामीले विस्तारै विस्तारै झुटो बोल्न छोड्नुपर्छ अनी मात्र नेपाल र नेपालीलाई सबैले पत्याउँछन्।’
साथै उनले उद्योग बिना रोजगारी सिर्जना हुन नसक्ने बताए। उनले उद्योगमा जोड दिएनौं, पाखा लगायौं भने झन बेरोजगार बढ्ने बताए।
उनले भने, ‘उद्योग बिना रोजगारी सिर्जना हुन सक्दैन। रोजगारी सिर्जना गर्ने ठाउँ नै रोजगारी हो। उद्योगमा जोड दिएनौं भने पाखा लगायौं भने हामी सबै बेरोजगार हुन सक्छौं। रोजगारी सिर्जना हुने कामहरु हामीले गर्न सकेका छैनौं। खाली हामी रोजगारी भएन सिर्जना मात्र गर्नुपर्छ भनेर बसेका छौं। अब हामीले उद्योगलाई जोड दिनुपर्छ।’
