भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसईई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए।
बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ। उनले भने, ‘गतवर्ष २०८० को एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए। यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर ५ लाख १४ हजार ७१ जना छन्।’
कार्यालयले यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ। परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुनेछन् भने, २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन्। परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ।
यस पटकको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीन वटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ। परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए।
यस वर्षको एसईईमा कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसईई परीक्षा दिने भएका छन्। चैत ७ गतेदेखि सुरु परिक्षा १९ गते सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।


