काठमाडौँ- जोन्टा क्लब काठमाडौँले अन्तर्राष्ट्रिय महिला दिवसलाई पहेँलो गुलाब दिवसका रूपमा मनाउँदै असाधारण महिलाहरूलाई सम्मान गरेको छ। आइतवार क्लबले महिलाहरूलाई सम्मान गरेको हो।
कार्यक्रममा बिभिषा माथेमा श्रेष्ठ, विनिता अधिकारी, सुनिता चिदिमार, अरिका गुरुङलाई अनसङ हिरो पुरस्कार प्रदान गरिएको छ। यस्तै पलेशा गोवर्धनलाई अमर राणा गेम चेन्जर अवार्ड प्रदान गरिएको छ। एयरोस्पेसमा महिलाहरूका लागि इन्द्रकला छात्रवृत्ति-२०२५ बाट अंकिता भट्टराई सम्मानित भएकी छन्।
यस्तै व्यवसायमा महिलाका लागि ज्योति छात्रवृत्ति-२०२५ बाट ओशिका श्रेष्ठ सम्मानित भएकी छन्। अनुपा बराल पनि ज्योति छात्रवृत्तिबाट सम्मानित भएकी छन्। स्मृति कुँवरलाई सार्वजनिक मामिलामा युवा महिलाहरूको लागि इन्द्रकला छात्रवृत्तिबाट सम्मानित गरिएको छ।
पत्रकारिता र वकालतमा योगदान पुर्याएकोमा ‘लिडरशिप इन मिडिया’ अवार्डले तीन प्रतिष्ठित महिला सम्पादकलाई समेत सम्मानित गरिएको छ। लैङ्गिक तथा सामाजिक समावेशीकरणका क्षेत्रमा योगदान दिएको भन्दै बबिता बस्नेत, जलवायु परिवर्तनका लागि सोनिला अवाले र व्यवसाय र वित्तका लागि चारु चड्ढालाई सम्मान गरिएको क्लबले जानकारी दिएको छ।
कार्यक्रममा जोन्टा क्लब काठमाडौँकी अध्यक्ष बिना राणाले पहेँलो गुलाव दिवस नेतृत्व र लैङ्गिक समानता प्रयास भएकी उल्लेख गरेकी थिइन्। ‘यस वर्षको आईडब्लूको अभियानको विषयवस्तुसँग मेल खाँदै अवरोधहरू तोड्दै, चुनौतीपूर्ण काम गरेका नेपालका असाधारण महिलाहरूलाई सम्मान गरेका छौँ,’ उनले भनिन्, ‘आफ्नो घर, कार्यस्थल र समुदायमा परिवर्तनलाई प्रेरित समेत गरेकाहरूलाई सम्मान गर्न पाउनु आफैँमा गर्वको क्षण हो।’
यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘सबै महिला र केटीहरूको लागि: अधिकार, समानता, सशक्तीकरण’ छ। सबै महिला र युवतीहरूका लागि समान अधिकार, शक्ति र अवसर अनलक गर्न सामूहिक कार्यको आवश्यकतालाई जोड दिइएको छ।


