दाङ- नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनलाई लक्षित गरी अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रको टोलीले मेचीकाली यात्राका क्रममा दाङ पुगेको छ। टोलीले मंगलवार दाङको तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
दाङ पुगेको मिश्र नेतृत्वको टोलीलाई स्वागत गर्दै तुलसीपुर उच्च अदालत बार एशोसिएशनका पूर्वअध्यक्ष अधिवक्ता सालिकराम रेग्मीले मिश्र नेतृत्वको टोलीलाई शुभकामना दिएका थिए।
न्यायालयमा विभिन्न प्रभाव देखिएको बताउँदै दाङ पनि अछुतो नरहेको उनको भनाइ थियो। न्यायालयको निष्पक्षता र स्वायत्तता कायम राख्न सुधार आवश्यक रहेको उनले औँल्याए।
कार्यक्रमका अध्यक्ष तथा बृहत लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले कानुनी पेशाको मर्यादा रक्षा गर्दै वरिष्ठ अधिवक्ताको सम्मान, नयाँ अधिवक्ताहरूको क्षमता अभिवृद्धि, र मुलुकभर कानुन व्यवसायीको हकहितका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए। उनले कानूनी पेशालाई अझ सशक्त बनाउन कानून व्यवसायीहरूको एकता आवश्यक रहेको बताए।
मिश्रको टोली दाङ आएकोमा वक्ताहरूले खुशी व्यक्त गरेका थिए। बार एशोसिएशनको आसन्न निर्वाचनलाई निष्पक्ष, मर्यादित र लोकतान्त्रिक ढंगले सम्पन्न गर्नुपर्ने उनीहरूको जोड थियो। मिश्रको टोलीले चुनावमा विजय प्राप्त गरी कानूनी क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै न्याय प्रणालीलाई प्रभावकारी बनाउन सफल हुने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा केही दिनअघि दिवंगत भएका अधिवक्ता गोकर्ण खत्रीको आत्माको चिरशान्तिका लागि मौनधारण तथा श्रद्धाञ्जलि अर्पण गरिएको थियो। कार्यक्रममा कानूनी पेशाका अगुवा, अधिवक्ताहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


