कपिलवस्तु- नेपाल बार एशोसिएशनको २७औँ निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रको टोली मेचीकाली यात्रा लिएर कपिलवस्तु आइपुगेको छ। कपिलवस्तु पुगेको टोलीले मंगलवार जिल्ला अदालत बार इकाईका कानुन व्यवसायीहरूसँग छलफल तथा अन्तक्रियाका साथै उम्मेदवार र मतदाताबीच परिचय कार्यक्रम सम्पन्न गरेको छ।
लोकतान्त्रिक, प्रगतिशील र राष्ट्रवादी समूहको समर्थन पाएका बार अध्यक्षका प्रत्यासी प्राडा मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कानुन व्यवसायीहरूले टोलीलाई शुभकामना दिएका थिए। यसका साथै बार सुधार र न्यायपालिकाको शुद्धीकरणमा केन्द्रित हुन पनि उनीहरूले जोड दिएका थिए।
जिल्लाका कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका अध्यक्ष पदका उम्मेदवार प्राडा मिश्रले आफ्नो समूह न्यायपालिकाबाट भ्रष्टाचार हटाउन सक्षम रहेको र त्यसको कार्यनीति तथा रणनीति आफूहरूले बनाइसकेको बताएका थिए।
‘न्यायपालिका भ्रष्टाचारमुक्त बनाउने समय आएको छ,’ उनले भने, ‘त्यसका लागि हाम्रो टोली दृढ छ।’ नवोदित कानुन व्यवसायीको क्षमता अभिवृद्धि, न्यायालयमा उनीहरूको सक्रिय उपस्थिति सुनिश्चित गर्ने र कानुन व्यवसायीहरूको हकहितको लागि प्रभावकारी कार्यक्रम ल्याउने उनले प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा सहभागी कानुन व्यवसायीहरूले बार सुधारबारे जिज्ञासा राखेका थिए। अधिवक्ता ब्रीजेन्द्र चौधरीले केन्द्रीय बार र कपिलवस्तुको बारबीचको सम्बन्ध थप प्रगाढ बनाउन सुझाव दिए। बारको नेतृत्व कुनै राजनीतिक दलको नभई कानुन व्यवसायीहरूको पक्षमा रहनुपर्ने उनको धारणा थियो।
अधिवक्ता भोला विश्वकर्माले विगतका उम्मेदवारले जितेर गएपछि घोषणापत्रमा राखेका प्रतिबद्धताहरू नगरेका तर यो टोलीलाई आफ्ना घोषणापत्रका विषय सँधै स्मरणमा राखेर सम्बोधनको प्रयास गर्ने विश्वास व्यक्त गरे।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्षका उम्मेदवार मिश्रले आफ्नो कार्यकालभित्र नै घोषणापत्र कार्यान्वयन गरिछाड्ने दृढता व्यक्त गरे। ‘घोषणापत्रका विषयमा भएका काम आगामी तीन वर्षमा देख्न सक्नुहुन्छ। अधिवक्ताको आवाजमा हामी सशक्त रूपमा उभिन्छौं। चुनाव जित्नका लागि भाषण होइन, काम गरेर देखाउनेछु,’ उनले भने।
वरिष्ठ अधिवक्ता मदनप्रसाद गुप्ताको अध्यक्षयतामा भएको कार्यक्रम सञ्चालन कपिलवस्तु जिल्ला अदालत बारका सचिव राजुकुमार श्रीवास्तवले गरेका थिए। नेपाल बार एसोसिएसनको निर्वाचन चैत २३ गते हुन गइरहेको छ।


