काठमाडौँ- कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम शनिबार काठमाडौँमा सम्पन्न भएको छ। मदन भण्डारी फाउन्डेसनको आयोजनामा ‘श्वेत शार्दूल: एक यात्रा कविको शिविर’ शीर्षकमा कविता वाचन कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा कवि श्रेष्ठले जीवन र जगतसँग सम्बन्धित कवितासँगै व्यंग्यात्मक कविता र गजलहरू प्रस्तुत गरेका थिए। पोखरामा बसोबास गर्दै आएका उनले काठमाडौँका विकृतिहरूलाई आफ्नो कविताको माध्यमबाट कटाक्ष गरेका थिए।
‘ओ काठमाडौँ उठ’ कवितामार्फत उनले काठमाडौंमा आपराधिक गतिविधि मौलाउँदै गएको, बागमती र विष्णुमती नदीमा बढेको फोहोरप्रति चिन्ता व्यक्त गरे। उनले मान्छेलाई सर्प र सर्पलाई मानिससँग तुलना गर्दै समाजको यथार्थ चित्रण गरे।
श्रेष्ठले आफू नेवार समुदायको सन्तान भएको बताउँदै आफ्ना पुर्खाहरू भक्तपुरबाट पोखरा झरेको स्मरण गरे। उनले ‘काठमाडौं खाल्डो’ कविता वाचन गर्दै काठमाडौँको इतिहास र वर्तमान अवस्था झल्काए। त्यस्तै, ‘जिन्दगीको गोदुली एउटा प्यास छ अझै…’ गजल प्रस्तुत गरेर दर्शकको मन जिते।
कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाज बुझ्ने प्रभावशाली माध्यम भएको बताइन्। ‘कविताबाट यथार्थमा आधारित कुराहरू समाजलाई जानकारी गराउन सकिन्छ,’ उनले भनिन्, ‘कला, साहित्यले समाजलाई सूसुचित गर्न टेवा पुर्याउँछ।’
भण्डारीले भाषा, कला र साहित्य समाज विकासका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै पहिलो पटक एकल कविता वाचन कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्।
मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले मदन भण्डारी केवल राजनीतिमा मात्र सीमित नभई साहित्यसँग पनि जोडिएको हुँदा यस प्रकारका साहित्यिक कार्यक्रमको आयोजना गरिएको बताइन्। गजलकार संगीता थापाले गजल वाचन गरिन्।
कार्यक्रमको सञ्चालन कवि भोजराज न्यौपानेले गरेका थिए। कवि तीर्थ श्रेष्ठले कार्यक्रमका लागि संयोजनकारी भूमिका निर्वाह गरेकोमा प्रभू बैंकका सीईओ अशोक शेरचनलाई धन्यवाद दिए। भने, ‘अशोकजी मेरा लागि माया हो। यसअघि पनि मैले एकल कविता वाचन गर्दा उहाँले नै यस्तै संयोजनकारी प्रेम देखाउनु भएको थियो। यसपटक पनि उहाँकै कारण यो कार्यक्रम सम्भव भयो।’

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै प्रभु बैंकका सीईओ अशोक शेरचन।
कार्यक्रममा कवि श्रेष्ठले आफ्नो विषयमा पनि भनेका थिए। ‘म आफूलाई एकदम ठूलो र महान् कविको रूपमा सोच्दिनँ। कविता लेख्न मन पराउने एउटा मान्छे हुँ,’ उनले भने, ‘कविता जति लेख्दै गयो, त्यति नजानेको अनुभव हुने विधा हो। सुरूमा लेख्दा त केके न लेखेजस्तो लाग्थ्यो। तर, लेख्दै जाँदा लेख्न अझ बाँकी छ भन्ने अनुभूति हुँदोरहेछ।’अनि श्रेष्ठले जीवनबारे सोच्ने चारवटा पंक्ति सुनाए:
म जहाँ बास बस्छु, त्यो मेरो घर होइन
म जहाँ अडिन्छु, त्यो मेरो कर्तव्य होइन
धेरै टाढा जानु छ मलाई
किनु मेरो जीवन होइन
बुकहिल प्रकाशनका अध्यक्ष भुपेन्द्र खड्काले ‘हिउँमा लेखिएका नामहरू’ कविता संग्रह कवि श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।
सांसद देवीप्रसाद भट्टचन।


