काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव चम्लागाईं निर्वाचित भएका छन्।
चम्लागाईंले ३५१ मत ल्याएर निर्वाचित भएका हुन्। निर्वाचित चम्लागाईँ कांग्रेस महामन्त्री गगन थापा निकट हुन्।
चम्लागाईँले अध्यक्षका अरु दुई प्रतिस्पर्धी विकास थापा र कल्पना खड्कालाई पराजित गरे। थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेका थिए।
पराजित थापा नेता डा.शेखर कोइराला पक्षका हुन्। कल्पना खड्कालाई पार्टी प्रवक्ता डा प्रकाशशरण महतले अघि सारेका थिए।
शुक्रबारदेखि सुरु भएको महाधिवेशनको शनिबार मतदान सकिएको थियो। आन्तरिक विवादका कारणले सोमबार बिहान मात्रै मतगणना भएको थियो।
पदाधिकारीमा समेत चम्लागाईं प्यानलका उम्मेदवार विजयी बनेका छन्। उपाध्यक्षमा महिलाबाट अनिता घिमिरे गैरे, खुलातर्फ उदयबहादुर लिम्बू, दुई महामन्त्रीमा किरणकुमार पासवान र गणेशबहादुर खत्री निर्वाचित भएका छन्। महाधिवेशनका लागि चयन भएका ८९२ प्रतिनिधिबाट ४७० मत खसेको थियो ।
विधानअनुसार लोकतान्त्रिक अपाङ्ग संघमा ५१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। ३९ जना निर्वाचित र १२ जना मनोनित हुने विधानको व्यवस्था छ।
महाधिवेशनका केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहने गरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको थियो। २०६३ सालमा गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले प्रथम महाधिवेशन १८ वर्षपछि गरेको हो।


