काठमाडौँ- राजावादीको प्रदर्शनमा झडप र आगजनी हुँदा पत्रकारसहित दुई जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ भने आन्दोलनकारीले आगजनी गरेको घरमा पत्रकारको मृत्यु भएको हो।
तीनकुनेस्थित एक घरमा आगजनी गरिँदा त्यहाँ भिडिओ खिचिरहेका एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको मृत्यु भएको हो।
एभिन्युज टेलिभिजनले लाइभमै आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ। तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले बताएको छ।
यस्तै काठमाडौँको तीनकुनेमा काठमाडौँ जिल्ला कीर्तिपुर-४ ठेगाना भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको हो। प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले १५ जना प्रहरी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकारी दिए।
यसैबीच प्रहरीले राजावादी आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ।
प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो।
सहसचिव रिजालले पनि प्रसाईलाई कानुनी कारबाहीमा ल्याइने बताएका छन्।
राजतन्त्रको पक्षमा भएको प्रदर्शनमा झडपसँगै थुप्रै ठाउँमा आगजनी र तोडफोड भएको छ।


