काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र हट्न नसक्ने स्पष्ट गर्दै अहिले देश एकढिक्का रहेको बताएका छन्।
शनिबार लुम्बिनीमा आयोजित नेपाल लेखक संघको आठौँ अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले हालैका घटनाक्रमबारे आफ्नो धारणा व्यक्त गरेका थिए।
शुक्रबार काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनाबारे चर्चा गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न नसक्ने दोहोर्याए।
‘काठमाडौंमा पूर्वराजाको नाममा भएको हुलहुज्जत र अराजक गतिविधि गम्भीर विषय हो। यदि अहिले नै यस्तो अवस्था छ भने राजा भए के गर्लान्? उनी कहिल्यै संवैधानिक राजा बनेका छैनन् र बन्ने सम्भावना पनि छैन,’ देउवाले भने।
उनले थपे, ‘गणतन्त्रलाई कसैले हटाउन सक्दैन। देश एक ढिक्का छ, यही सन्दर्भमा मैले आफ्नो धारणा राख्न आवश्यक ठानेको हुँ।’


