बैङकक- थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ।
भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए ।
त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावातले स्वागत गरेकी थिइन् ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र थाइल्याण्ड सरकारबीच पर्यटन क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
बुधबार परराष्ट्र मन्त्री आरजु राणा देउवा र थाइल्याण्ड सरकारका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
त्यस्तै, गैरसरकारी उद्योगहरू र अन्य विभिन्न सम्झौताहरू भएको परराष्ट्र मन्त्री राणाले उल्लेख गरेकी छन्।
‘नेपाल सरकार र थाइल्यान्ड राजकीय सरकारबीच सांस्कृतिक सम्झौतामा मैले नेपाल सरकारको तर्फबाट हस्ताक्षर गरेको छु साथै नेपाल सरकार र थाइल्यान्ड राजकीय सरकारबीच पर्यटन सहकार्यसम्बन्धी समझदारी पत्र (एमओयु) मा पनि हस्ताक्षर गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हाम्रा देशका गैर-सरकारी उद्योगहरूबीच पनि विभिन्न अन्य सम्झौताहरू भएका छन्। यी सबै पहलहरूले नेपाल-थाइल्याण्ड सम्बन्धलाई विभिन्न क्षेत्रहरूमा सुदृढ गर्न सहयोग गर्नेछन्।’


