काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइ कर्मचारी तलब नपाएको विरोधमा आन्दोलनमा उत्रिएका छन्। कर्मचारी आन्दोलनमा उत्रिएपछि अहिले विमानस्थलको आन्तरिकतर्फ सरसफाइ रोकिएको छ।
‘हामीलाई साढे दुई महिना भन्दा बढी भयो तलब नदिएको, पटकपटक ताकेता गर्दा पनि तलब नआएपछि हामी आन्दोलित हुन बाध्य भयौं’, एक कर्मचारीले भने, ‘आज हामीले एक घण्टा धर्नाको कार्यक्रम राखेका थियौं। अव पनि प्रशासनले हाम्रो तलब पठाउन ढिला गरेमा थप कार्यक्रम ल्याउँछौं।’
तलब माग गर्दै दश दिनदेखि आन्दोलनमा उत्रिएका सरसफाइ कर्मचारीहरूले आन्तरिकतर्फको कुनै पनि फोहोर नउठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कर्मचारीले फोहर नउठाउँदा आन्तरिकतर्फको क्षेत्रमा निकै दुर्गन्ध फैलिएको छ।
विमानस्थलको आन्तरिकतर्फ ७६ जना सरसफाइ कर्मचारी कार्यरत छन्।


