काठमाडौँ- चैत १५ गते तीनकुनेबाट फरार भएका दुर्गा प्रसाईं भारत प्रवेश गरेको खुलेको छ। प्रहरीका अनुसार उनी झापाको काँकडभिट्टा नाका हुँदै उनी भारत प्रवेश गरेका हुन्। तीनकुनेस्थित सटरबाट भागेपछि उनी चढेको गाडी झापाको बीएन्डसी कलेज परिसरमा फेला परेको छ।
उक्त गाडीलाई प्रहरीले काठमाडौँ ल्याएको छ। बागमती प्रदेशमा दर्ता भएको उक्त गाडीको नम्बर बीएबी ४२०८ हो। राजावादी आन्दोलनका दिन उनले चलाएको उक्त स्कोर्पियो गाडी हाल टेकुस्थित अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा छ। तीनकुनेस्थित सभास्थलमा आफ्ना समर्थकलाई उत्तेजित पारेर प्रसाईं एक घरको सटरभित्र लुकेका थिए। सो क्रममा स्थिति निकै तनावपूर्ण भएको थियो।
प्रसाईं आफ्ना निजी सुरक्षाकर्मी र धर्मगुरु पुष्कर खतिवडासहित गाडी चढेर भागेका थिए। उनी चढेको गाडी काठमाडौँबाट बीपी राजमार्ग हुँदै झापाको काँकडभिट्टा पुगेको प्रहरीले पुष्टि गरेको छ। गाडी र चालकलाई नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएको छ भने प्रसाईं भने भारततर्फ लागिसकेको प्रहरीको दाबी छ।
प्रसाईं भारत प्रवेश गर्नु अघि इमाडोलस्थित खतिवडाको घर पुगेका थिए। त्यहाँ केही बेर बस्दै चिया र फलफूल खाएर उनले धवल शमशेरलाई फोन पनि गरेका थिए।
प्रदर्शनको दिन प्रसाईं, राप्रपाका रवीन्द्र मिश्र र धवल शमशेरले आन्दोलनलाई हिंसात्मक बन्न उक्साएको आरोप प्रहरीले लगाएको छ। यद्यपि उनीहरूले भने प्रहरीले आफूहरूमाथि अश्रुग्यास र गोलीबारी गरेपछि प्रतिक्रिया जनाएको दाबी गरिरहेका छन्।
तीनकुनेमा भएको घटनामा पक्राउ परेकामध्ये २१ जनामाथि राज्यविरुद्धको अभियोगमा अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न प्रसाईंका अन्य सहयोगीहरू समेत पक्राउ परिसकेका छन्।
तीनकुने आन्दोलनको भिड निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा प्रहरीसँग झडप भएको थियो। पछि ढुंगामुढा, टायर जलाउने, घरमा आगजनी, सञ्चारगृहमा तोडफोड जस्ता घटनाहरू भए। पत्रकार सुरेश रजकको मृत्यु, दमकलमा आक्रमण, प्रहरी गाडी जलाउने, औषधि नियन्त्रण विभागको गाडी जलाउने लगायतका हिंसात्मक गतिविधिहरू भए।
प्रहरी र प्रदर्शनकारीबीचको झडपमा २० जना गोली लागेर घाइते भए, १३ जना अझै अस्पतालमै उपचाररत छन्। समग्रमा ७७ जना सुरक्षाकर्मी र ५३ जना प्रदर्शनकारी घाइते भएका छन्।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रशासनले निषेधाज्ञा जारी गर्दै सेनालाई सडकमा उतारेको थियो। अर्को दिन बिहान ७ बजे निषेधाज्ञा हटाइएको थियो।
उक्त दिन प्रहरीले सामान्य अवस्थामा पैदलयात्रीमाथि पनि गोलाबारी गरेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल छन्। प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ। २० जनाभन्दा बढी घाइतेहरूलाई गोली लागेको र काठमाडौँका विभिन्न अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।


