काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफू पदबाट हटाइए पनि जनताको माया र समर्थनले आफूलाई हार्न नदिएको बताएका छन्।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो बर्खास्ती पछाडि व्यक्तिगत स्वार्थ र शक्ति सञ्चालकहरूको खेल रहेको जनाए।
‘देशका जनतालाई भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा दिन इमानदारीपूर्वक समर्पित राष्ट्रसेवकलाई अपमानित गर्ने दुराशय सफल भएजस्तो देखिए पनि, जनताको आशीर्वादले म अझै नथाकिएको छु,’ घिसिङले भावुक शैलीमा भने।
उनले आफू कार्यकारी निर्देशक पदबाट मात्रै अलग भएको भए पनि जिम्मेवार नागरिकका रूपमा देशको सेवा गर्ने मनोबल यथावत रहेको बताए। ‘म अब पनि नागरिकको भूमिकामा जिम्मेवारी निभाउन तयार छु,’ उनले थपे।
कुलमानले आफूलाई हटाउने निर्णय भइरहँदा समेत आफू काममै खटिएको उल्लेख गर्दै भने, ‘मन्त्रिपरिषद्बाट मलाई हटाउने निर्णय भएको दिन म मकवानपुरको विकट चेपाङ बस्तीमा उज्यालो पुर्याउने काममा व्यस्त थिएँ।’
उनको भनाइमा, आफूले देश र जनताको हितमा गरेका कामहरूप्रति जनता जानकार छन् र हरेक निहित स्वार्थविरुद्ध उनीहरूको साथ सधैं रहनेछ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताए।
‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्यौं, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौं, प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्याउन सक्नु नै मेरो कार्यकालको सफलता हो,’ उनले भने ।
सरकारले कार्यकाल बाँकी छँदै कार्यकारी बर्खास्त गरेपछि घिसिङ सरकारविरुद्ध सर्वोच्च अदालत गएका थिए। तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन।


