बैंकक- प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ। उनीहरुबीच शुक्रबार अपराह्न भेट भएको हो।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच साइडलाइन भेट भएको हो।
यसअघि संयुक्त राष्ट्रसंघको महासभामा पनि प्रधानमन्त्री ओली र मोदीबीच ३० मिनेट साइडलाइन भेट भएको थियो।
नेपालमा प्रधानमन्त्री बनेको ९ महिना बित्दा पनि भारतीय प्रधानमन्त्री मोदी नेपाली समकक्षी ओलीलाई भ्रमणको निम्तो दिन तयार नभएपछि नेपाल-भारत कूटनीति चिसिएको विश्लेषण भइरहेको छ।
बिहीबार बिमस्टेकको अफिसियल डिनरमा प्रधानमन्त्री ओली र मोदी सँगसँगै देखिएका थिए। सोही लाइनमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस पनि थिए। सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्रीहरू सँगसँगै बस्नु असामान्य भने होइन।


