काठमाडौँ- नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ। यसपटक बारको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ।
बारको नयाँ नेतृत्व लिन बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। मिश्र र श्रेष्ठ अलग-अलग प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
अध्यक्षका लागि तीन जनाको स्वतन्त्र उम्मेदवारी परेको छ। बारको अध्यक्षका लागि अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेलले पनि उम्मेदवारी दिएका छन्। बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ५७ जना उम्मेदवार मैदानमा छन्।
मिश्रको समूहबाट महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला उम्मेदवार छन्। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात ९ हजार ९५७ रहेका छन्। काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका छन्। काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ। यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन्।
दिउँसो ४ बजे मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरी मतदान केन्द्र बमोजिम मतगणना हुने निर्वाचन समितिले जानकारी दिएको छ। चाँडो मतगणना सम्पन्न गरी नतिजा प्रकाशन गर्ने योजना बनाएको समितिको भनाइ छ।


