काठमाडौं- एफवान सफ्ट ग्रुप अन्तर्गतको भुक्तानी सेवा प्रदायक एफवान सफ्टले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपीओ) जारी गर्ने भएको छ। यसका लागि लागि फोनपेले बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटलाई छनौट गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा दुवै पक्षबीच हस्ताक्षरसमेत भएको छ।
यो सम्झौतासँगै एनएमबी क्यापिटलले फोनपेलाई आईपीओ जारी गर्न पूर्वतयारीमा सघाउने छ। पूर्वतयारीको काम सकिएपछि नियमक निकायबाट आवश्यक स्वीकृति लिइ फोनपेले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने छ।
सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्यकारी प्रमुख दिवस सापकोटाले एनएमबीसँगको सम्झौताले आफूहरुलाई थप सहज हुने बताएका छन्। ‘हामीले साधारण शेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालका अन्य कम्पनीहरुलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौँ। यस सपनालाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदशन गर्नका लागि एनएमबी क्यापिटलसंग सहकार्य गर्न लागेका हौं’, सापकोटाले भनेका छन्।
सन् २०१९ देखि सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोन मार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ। फोनपे नेटवर्कमा ५८ वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु सदस्य छन्। १ करोड ८० लाख भन्दा बढी सेवाग्राही र १२ लाख बढी मर्चेन्ट फोनपेमा आबद्ध छन्।
फोनपेमार्फत् दैनिक सात अर्बभन्दा बढीको नगद रहित कारोबार हुने गरेको कम्पनीको दाबी छ।


