काठमाडौँ- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत इलाम मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ।
शनिबार भएको मतदानमा इलाम केन्द्रमा मतदान गरेकामध्ये बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले ३७ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी बनेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले २३ मत पाए। झापा केन्द्रका ५० मत गन्दा विजयका पक्षमा ३२ मत खसेको छ भने रमणका पक्षमा १७ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ। झापा केन्द्रको गणना सकिएको छैन।
यस्तै मोरङ, विराटनगर,धनकुटा र सुनसरी केन्द्रको गणना जारी छ। अन्य केन्द्रको मतपेटिका खुल्न बाँकी छ।
शनिबार देशभरका ३६ मतदान केन्द्रमा मतदान भएको थियो। काठमाडौँबाहिर ३५ वटा मतदान केन्द्र थिए। काठमाडौँ उपत्यकाको मतदान केन्द्रमा मात्र ६ हजार १०२ मतदाता थिए। उपत्यकामा ४ हजार ६४३ मत खसेको छ। ९ हजार ९९७ मतदाता रहेको बार निर्वाचनमा ८० प्रतिशत मत खसेको थियो।
अध्यक्षका उम्मेदवार मिश्रलाई डीएलए, एमाले निकट पीपीएलए र राप्रपा निकट एनडीएलएको समर्थन छ। माओवादी केन्द्र निकट आरपीएलए र रास्वपाका निकटका कानुन व्यवसायीको गठबन्धनबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ अध्यक्ष उम्मेदवार हुन्।


