काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरेको हो।
भेटमा प्रधानमन्त्री ओलीले धरानवासीका लागि खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढेको बताएका छन्।
‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीले भने।
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ।
यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्यान्डफिल्डसाइट बनाउनुपर्नेमा जोड दिएका थिए।


