काठमाडौँ- नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना जारी छ। सोमवार सुरु भएको मतगणना मंगलबार काठमाडौँ उपत्यका बाहिरका सबै केन्द्रको गणना सम्पन्न भइसकेर काठमाडौँ मतदान केन्द्रको गणना सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ।
यसपालिको निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र अध्यक्षका उम्मेदवार छन्। मिश्रलाई सहजै जित्ने दाबी गर्दै माओवादी केन्द्र निकटका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
रमण श्रेष्ठको पक्षले आफ्नो समूहले सहजै जित निकाल्ने जिकिर गर्दै आएको थियो। श्रेष्ठको प्रस्तावकसमेत रहेका बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता सुशील पन्त समर्थक राखेकाले आफूले जित्नेमा ढुक्क रहेको भन्दै श्रेष्ठले वक्तव्यबाजी गर्थे। प्रस्तावक र समर्थकमा आफूले प्रभावशाली वरिष्ठ अधिवक्ताहरूलाई राखेकाले उनीहरूले सर्वोच्च बारसहित देशभरका कानुन व्यवसायीलाई आफ्नो पक्षमा तानिदिने भएकाले आफ्नो जित सुनिश्चित भएको दाबी श्रेष्ठको थियो।
सर्वोच्च अदालत बारमा सबैभन्दा धेरै वरिष्ठ अधिवक्ताहरू रहेको र आफूले भनेको कुरामा उनीहरूले साथ दिने भन्दै जित हुनेमा आश्वस्त रहन थापाले भनेको श्रेष्ठ निकटकै कानुन व्यवसायीहरू बताउँछन्। थापा र पन्तले आफूहरू दुई जनाले देशभरका कानुन व्यवसायीको मत प्रभावित पार्न सक्ने श्रेष्ठ समूहमा खुलेआम भन्दै आएका थिए। त्यसमध्ये पनि सर्वोच्च बारबाट ७० प्रतिशतभन्दा बढी मत रमणले ल्याउने उनीहरूको जिकिर थियो। सुरुवाती गणनामा आफूहरू प्रतिस्पर्धी हुने र सर्वोच्च बारमा आइपुग्दा आफ्नो समूहले मिश्र समूहलाई धेरै पछि छाडेर अघि जाने थापाको दाबी रहँदै आएको थियो। तर श्रेष्ठ समूह र त्यो समूह चलाउने थापा तथा पन्तले कोर एरिया दाबी गरेको सर्वोच्च बारबाट नै कमजोर मत पाए।
सर्वोच्च बारमा मिश्रले ३३३ मत पाउँदा श्रेष्ठले १९३ मत मात्र पाए। मत परिणामको प्रारम्भिक रुझान सुरु हुँदासम्म पनि सर्वोच्च बारेमा आफूहरूले ठूलो मत पाउने र यही स्थानबाट अग्रता बनाउने दाबी श्रेष्ठ, पन्त र थापाको थियो। तर उनीहरुको दाबी विपरीतको मत आएपछि थापा, पन्त र श्रेष्ठ समूहले निराश छ। सर्वोच्च बारपछि गणना हुने हरेक स्थानमा प्रतिस्पर्धी मत ल्याउँदा सहजै जित हुने उनीहरूको रणनीति थियो। तर मतदाताले मिश्रलाई मात्र नभएर पूरै २५ जनाकै प्यानललाई रोज्दा श्रेष्ठसहितका आफूहरूलाई चुनावी खेलाडी बताउनेहरुको रणनीति विफल बन्न पुगेको छ। थापा र पन्तले दावी गरेजस्तो मत श्रेष्ठका पक्षमा नखसेपछि माओवादी निकटका कानुन व्यवसायीहरू थापा र पन्तमाथि सशंकित बनेका छन्।
आफूले नेपाल बारको नेतृत्व गर्दासम्म नागरिक समाजको अगुवा संस्थाका रूपमा बारको साख कायम रहेको तर आफूले छोडेपछि बारको साख धुलीसात भएकाले शाख फर्काउन श्रेष्ठको व्यक्तित्वले काम गर्ने बताउँदै आएका थिए। बारको साख फर्काउन श्रेष्ठलाई नै चुन्नुपर्ने भन्दै उनले मत मागेका पनि थिए।
बारमा अब काठमाडौँ जिल्ला बार, पाटन उच्च बार र ललितपुर जिल्ला बारको गणना बाँकी छ। निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार यी तीन स्थानको गणना बुधवार सुरु हुनेछ। बिहीवारसम्ममा सबै स्थानको गणना सम्पन्न गरी अन्तिम परिणाम सार्वाजनिक गर्ने योजनामा समिति रहेको सिटौलाले जानकारी दिए।
सिटौलाका अनुसार तीन स्थानको गणना बाँकी रहँदा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा पनि बढी मत ल्याएका छन्। मिश्रले २ हजार ८८२ मत पाउँदा उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले १ हजार ४२५ मत पाए।
मिश्र प्यानलबाटै महासचिव उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता केदार कोइरालाले २ हजार ८६० मत पाएका छन्। उनका प्रतिस्पर्धी श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले १ हजार २३८ मत पाएका छन्।
यो गणनामा मिश्र नेतृत्वको बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहको प्यानलले २५ वटै पदमा अग्रता बनाइरहेको छ।
मिश्रको प्यानलबाट उपाध्यक्षहरूमा अधिवक्ताहरू पदमप्रसाद लिम्बू(कोशी), अजयशंकर झा (मधेश), तेजबहादुर रावल (बागमती), भुपेन्द्र खनाल (गण्डकी), कृष्णप्रसाद पोखरेल (लुम्बिनी), विवशकुमार बस्नेत (कर्णाली), सिद्धराज ओझा (सुदूरपश्चिम) र सरस्वती श्रेष्ठ (महिला)ले अग्रता बनाएका छन्।
यो प्यानलको कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की छन्। दलित सदस्यमा चिरञ्जीवी तिल्क्यानी, मधेशी मुस्लिम (उपत्यका बाहिर) सदस्य अधिवक्ता सूर्यकुमार यादव, मधेशी मुस्लिम खुल्ला सदस्य रिंकुकुमारी यादव, आदिवासी जनजाति (उपत्यका बाहिर) सदस्य राजकुमार श्रेष्ठ, आदिवासी जनजाति (खुल्ला) सदस्य अधिवक्ता मंगलसुन्दर शिल्पकार, महिला (उपत्यका बाहिर) सदस्य अधिवक्ता इन्दिरा आर्चाय, महिला (खुल्ला) सदस्य रञ्जिता कार्की, खुल्ला (उपत्यका बाहिर) सदस्यहरूमा किरण पौडेल, किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी, माधव मैनाली छन्। श्रेष्ठ वरिष्ठ अधिवक्ता हुन् भने बाँकी उम्मेदवारहरू अधिवक्ता हुन्। उनीहरू सबैले अग्रता बनाएका छन्।
श्रेष्ठको प्यानलबाट महासचिवमा बनेका न्यौपाने रास्वपानिकट कानुन व्यवसायी हुन्। श्रेष्ठ प्यानलका उपाध्यक्षहरूमा कर्णबहादुर राई (कोशी), प्रमोद प्रसाद (मधेश), डेकेन्द्रप्रसाद सुवेदी (बागमती), सुकदेव गौतम (गण्डकी), तीर्थराज ज्ञवाली (लुम्बिनी), धर्मराज न्यौपाने (कर्णाली), पदमराज शर्मा (सुदूरपश्चिम) र दिना श्रेष्ठ (महिला) उम्मेदवार छन्। कोषाध्यक्षमा दीपक राई छन्। सदस्यहरूमा रामबहादुर मिजार (दलित), सञ्जुकुमारी शाह (मधेशी, मुस्लिम), देवशरण यादव (मधेश खुला), निश्चल राई (आदिवासी जनजाति), देवकुमार मोक्तान (खुल्ला, आदिवासी), कला त्रिताल (महिला उपत्यकाबाहिर), सुलोचना बज्राचार्य महिला (खुल्ला) रहेका छन्। खुला सदस्यतर्फका उम्मेदवारमा कृष्णप्रसाद आचार्य, हरिचन्द्र भट्टराई, रामलाल श्रेष्ठ, वीरेद्र खड्का, कान्तिराम ढुङ्गाना, जमुना भुसाल खनाल र सुनिलकुमार पटेल रहेका छन्।
श्रेष्ठको पुरै प्यानलले फराकिलो मतान्तरका साथ मिश्र प्यानललाई पछ्याइरहेको छ।
शनिबार देशभरका ३६ मतदान केन्द्रमा मतदान भएको थियो। काठमाडौँबाहिर ३५ वटा मतदान केन्द्र थिए। काठमाडौँ उपत्यकाको मतदान केन्द्रमा मात्र ६ हजार १०२ मतदाता थिए। उपत्यकामा ४ हजार ६४३ मत खसेको छ। ९ हजार ९९७ मतदाता रहेको बार निर्वाचनमा ८० प्रतिशत मत खसेको थियो।
