काठमाडौँ- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिबाट पूर्वगभर्नर डा विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। योसँगै गभर्नर नियुक्ति पुन: गिजोलिएको हो।
मंगलबार ह्वाट्सएपमार्फत अर्थमन्त्री विष्णु पौडेलसमक्ष डा भट्टराईले राजीनामा दिएका हुन्। समितिका संयोजक समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले एकपटक पनि बैठक नबोलाएको भन्दै उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते तीन सदस्यीय समिति गठन गरेको थियो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेका थिए।
‘रबर स्ट्याम्प जस्तो प्रयोग गर्न खोजेपछि राजीनामा दिएको हुँ,’ उनले भनेका छन्।
एक जना डेपुटी गभर्नरलाई राखेर तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने र ती नाममध्येबाट सरकारले एक जनालाई गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
चैत २४ गतेदेखि गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको छ । राष्ट्र बैंक ऐनमा सामान्यतया १ महिना अगाडिनै गभर्नर नियुक्ति गरेर सार्वजनिक जानकारी गराउनुपर्ने व्यवस्था छ । तर अहिलेसम्म सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन।
गभर्नर नियुक्त गरिसक्नु पर्ने वेलामा सिफारिस समितिलाई समेत बचाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री पौडेल र सत्तासाझेदार दलहरुको आलोचना सुरु भएको छ।


