काठमाडौँ- प्रधानमन्त्री केपी ओलीले ‘सरकार ढल्छ’ भनेर भ्रम फैलाउनेहरू थाकेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट काठमाडौँ ओर्लनेबित्तिकै सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू थाकेर थुचुक्क बसेको टिप्पणी गरेका हुन्।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्र्याक्क गलेर थुचुक्क बसेका छन्, सरकार ढल्दैन भनेपछि सकियो,’ उनले भने।
कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट ओर्लिनेबित्तिकै सरकार ढल्दैछ भनेर भ्रम फिजाइएको भन्दै उनले असन्तुष्टि पोखेका थिए। सरकार ढल्दैछ भनेर चलाएको हल्लाको पछि नलाग्न उनले पार्टीका सांसदहरुलाई आग्रह गरे।
‘हिजोसम्म आगो नै बाल्न खोजेका थिए, शेबहादुरजी फर्केर आउनेबित्तिकै सरकार ढल्छ भनेर, विमानस्थलमा ओर्लिनेबित्तिकै ढल्छ कि जस्तो पारेका थिए, ढल्यो ढल्यो, बांगिसकेको छ, शेरबहादुरजी आउनेबित्तिकै ढलिहाल्छ,’ उनले भने, ‘मैले साथीहरुलाई भन्दै आइरहेको छु, भ्रम फिजाउने तत्वहरुले भ्रम फिजाइरहन्छन्, यसको पछाडि नकुद्नुस्, काममा लाग्नुस्, मिसन २०८४ मा लाग्नुस्।’
प्रधानमन्त्री ओलीले विरोधीहरुको हल्लाको पछि नलागेर चुनावको तयारीमा लाग्न पनि निर्देशन दिए।


