काठमाडौँ– सरकारसँग गरेको सहमतिलाई लिएर विद्यालय कर्मचारीहरु र शिक्षक नेताहरुबीच विवाद सुरु भएको छ। रत्नराज्य स्कुलमा सहमतिबारे समीक्षा गर्न बोलाइएको बैठकमा चर्काचर्की भएको हो।
विद्यालय कर्मचारी परिषद्ले शिक्षक महासंघका तर्फबाट सरकारसँग गरिएको सहमति नमान्ने घोषणा गरेको छ।
बैठकमा परिषद्का अध्यक्ष गंगाराम तिवारीले महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीको आलोचना गरेका थिए। सुवेदीले बोल्दाबोल्दै तिवारीले अवरोध गरेका थिए। यसपछि तनावको स्थिति सिर्जना भएको थियो। पछि प्रहरी लगाएर तिवारीलाई बैठकबाट बाहिर निकालिएको थियो।
बाहिर आएर पत्रकारसँग कुरा गर्दै तिवारी फेरि महासंघ नेतृत्वमाथि खनिए। स्थायी शिक्षकहरुको मात्रै सेवा सुविधा सुनिश्चित गरेर कर्मचारीहरुलाई बेवास्ता गरेको उनको आरोप छ।
‘महासंघको आन्दोलनमा निरन्तर साथ र समर्थन गरिरहको अवस्थामा विद्यालय कर्मचारीकै माग सम्बोधन नहुनु उचित होइन,’ उनले भने, ‘आन्दोलनका नाममा शिक्षक महासंघले राजनीति गर्यो।’
थाती बसे शिक्षकका माग, महासंघ अध्यक्ष भन्छन्- प्रयत्न जारी रहनेछ!


