कैलाली– कैलालीमा रासायनिक मल अभाव हुने भएको छ। हरेक वर्ष मलको समस्या झेल्दै आएका र यस वर्ष पनि डिएपी मल अभाव हुने चिन्ता किसानले गरेका हुन्।
कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने देखिएको छ। सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट टे«डिङ कम्पनीले जीटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ।
यस वर्ष पनि समयमा मलको पर्याप्त आपूर्ति नहुँदा धानखेती गर्ने बेलामा डिएपी मल अभाव भएको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए। ‘किसानले खेती गर्ने बेला भइसक्यो। धानको बिउ राख्न थालेका छन्’, उनले भने, ‘मल आयात पर्याप्त नभएकाले यस वर्ष खेत रोप्ने समयमा अभाव हुने देखिन्छ।’
कार्यालय प्रमुख बोगटीले भैरहवा नाकामा १ हजार २ सय मेट्रिक टन डिएपी मल आयात गरिए मात्र सुदूरपश्चिम ल्याइने बताए। ‘पहिलो चरणमा १ हजार २ सय मेट्रिक टन डिएपी मल सुदूरपश्चिममा वितरण भइसकेको छ’, उनले भने, ‘थप मल भैरहवा नाकामा आयात गरिए वितरण गर्न सकिन्थ्यो।’
कृषि सामग्री कम्पनी धनगढीसित हाल २५० मेट्रिक टन युरिया मौज्दात छ भने पोटास पनि सोही मात्रामा मौज्दात छ। कैलालीमा १८ हजार मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र ५ हजार मेट्रिक टन पोटासको माग रहेको छ। माग बढी रहे पनि आधा मात्र आपूर्ति हुने गरेको छ। यही कारणले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन्।
किसान रुपराम चौधरीले किसानलाई आवश्यक भएका बेला हरेक वर्ष मल अभाव हुनुले किसानलाई कृषिकर्मप्रति निरुत्साहित हुने गरेको बताउँछन्। ‘खेती गर्न चाहिने मल, बिउ र सिँचाइ सुविधा पर्याप्त हुनुपर्ने हो। हामी सधैं अभाव झेलिरहन्छौं’, उनी भन्छन्, ‘अभावका बीचमा खेती गर्न निकै गाह्रो हुन्छ। समयमा मल नपाउँदा मल खोज्न भौतारिनुपर्छ।’



