पोखरा- एमाले नेताको घर बनाउनका लागि पोखरामा सडक नै बन्द गरिएको छ। पोखरा महानगरपालिकाको कार्यालय भवन रहेको दक्षिणपट्टिको सार्वजनिक सडक दुई दिनसम्म बन्द गरेर एमाले नेताले निजी प्रयोजनको भवन निर्माण गराएका हुन्।
महानगरपालिकाको कार्यालयसँगै जोडिएको सडक नेकपा एमालेका कार्यकर्ता रामकृष्ण ज्ञवालीले दुई दिनसम्म बन्द गराएर काम गराएका हुन्। एमालेको सरकार, महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँगको सेटिङमा सार्वजनिक रूपमा आवतजावत गर्ने सडक बन्द गरेर सडक अवरुद्ध गरिएको थियो।
भवनको अण्डरग्राउण्ड ढलान गर्ने क्रममा सडकको पुरै भाग ढाकेर गिटी, बालुवा, सिमेन्ट र छड राखिएको थियो। नजिकै बालुवा र गिटी बोकेका टिपर र ट्रकहरु पनि बाटो अवरुद्ध गरेर राखिएको थियो। दर्जनौं कामदारहरुले सडकमा नै ढलानको मसला बनाउने, गिटी, बालुवा बोक्ने काम गरेका थिए।
पोखरा महानगरपालिकाको मुख्य प्रवेशद्वारअघि ‘बाटो बन्द छ, निर्माण कार्य हुँदैंछ’ भनेर लेखिएको बोर्ड राखिएको थियो। महानगरको प्रहरीले पनि ज्ञवालीको भवन निर्माणका लागि भनेर बिहानसम्म खुला भएको गेट पनि लगाएर बसेका थिए।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यो विषय आफूलाई जानकारी नभएको बताए। उपमेयर मञ्जु गुरुङलाई जिम्मेवारी दिएर आफू बिदामा भएको उनको जिकिर थियो।
कार्यालय प्रवेश गर्ने बाटो नै बन्द गरेर भवन निर्माण भएको देखेपछि आफूले तत्कालै प्रमुख प्रशासकीय अधिकृतलाई भनेर नगरप्रहरी पठाएर बाटो खाली गराएको उपमेयर गुरुङको दाबी छ। ‘थप जरिवाना र कारवाहीको लागि सम्बन्धित शाखामा आदेश दिएको छु। यसरी सार्वजनिक सडक जो सुकैले बन्द गरेपनि प्रचलित कानुन बमोजिम दण्ड हुन्छ,’ उनको भनाइ छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले तत्कालै नगरप्रहरी पठाई बाटो खुलाईएको र यस सम्बन्धमा थप कारबाहीको लागि १० हजार जरिमाना गर्ने पत्र पठाइ सकिएको बताए। ‘कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेज्यूले पनि फोन गरेर सडक तुरुन्त खुलाउन आदेश दिनुभएको थियो,’ प्रमुख प्रशासकीय अधिकृत चौलागाईले भने, ‘नगरप्रहरी प्रमुख काठमाडौं हुनुभएकोले अन्य कर्मचारीलाई तत्कालै खटाएर बाटो खुलायौँ।’
ज्ञवालीको समूहले फेवातालमाथिको डाँडा पोखरा महानगरपालिकाको अनुमति बिना डोजर प्रयोग गरेर वषौंदेखि कटान गरेको थियो। विना अनुमति डाँडा कटान गर्ने ज्ञवालीको समूहलाई २६ लाख रुपैयाँ जरिमाना गराइएको थियो।
ज्ञवालीकै समूहले पोखरा–६, जरेबरस्थित एक डिपार्टमेन्टर स्टोर अगाडिको सडकको डिभाइडर विना अनुमति भत्काएको थियो।
पोखरा महानगरपालिकासँगैं जोडिएको सडक दुईदिनसम्म बन्द गरेर एक व्यक्तिले आफ्नो घर निर्माण कार्य गर्दा महानगरपालिकाले काम सक्किएपछि मात्र झारा टार्ने गरी नगरप्रहरी परिचालन गरेको थियो।
यस्तो थियो फिल्डमा


