काठमाडौँ- सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको हो।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस गरेका नामलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै पूर्णता दिएको हो।
सिफारिस समितिको निर्णयअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेशकुमार थापालाई मन्त्रिपरिषद्ले नियुक्त गरेको छ।
त्यस्तै बेपत्ता व्यक्तिहरूको छानबिन गर्न बनेको आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई अध्यक्ष बनाउने निर्णय पनि क्याबिनेटले गरेको हो।
त्यस्तै सत्य निरूपण आयोगको सदस्यमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, कुमारी कौशल्या ओझा र पदमबहादुर शाही नियुक्त भएका छन्।
बेपत्ता आयोगको सदस्यमा अग्निप्रसाद थपलिया, गोपालनाथ योगी, सृजना पोखरेल, विनिता नेपालीको नाम अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए।


