काठमाडौँ- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो।
मिश्रलाई सरकारले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै मिश्रकी पत्नी सारिका कार्कीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्। उक्त रिटमा सुनवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको हो।
वैशाख ३१ गते मिश्रलाई पक्राउ गर्नुको कारण देखाउन सर्वोच्चले सरकारलाई आदेश गरेको थियो।
काठमाडौँ जिल्ला अदालतले मिश्रलाई पक्राउ गरी म्याद थप गर्न अनुमति दिँदै आएको अवस्थामा सर्वोच्चले रिहा गर्न आदेश गरेको हो।
मिश्रलाई ८ पटक म्याद थप गरी हिरासतमा राखिँदै आएको थियो।
मिश्र पक्राउ परेको ४५औँ दिन पत्नी सारिका मंगलबार थुनामुक्त गर्न आदेश माग गर्दै बन्दीको निवेदन लिएर सर्वोच्च पुगेकी थिइन्।
तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा गत चैत १५ गते मिश्र पक्राउ परेका थिए।


