काठमाडौँ- संसदको सार्वजनिक लेखा समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अनियमितता र भ्रष्टाचारसम्बन्धी विषयमा अध्ययन गर्न सांसद मञ्जु खाँणको नेतृत्वमा उपसमिति गठन गरेको छ। समितिको आइतवारको बैठकले खाँणलाई अध्ययन उपसमितिको संयोजक तोकेको हो।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण अवधि, लागत वृद्धि, प्रविधि चयन र प्रयोगमा लापरवाही जस्ता विषयमा व्यापक अनियमितता भएको भन्दै संसदीय समितिमा गम्भीर चासो देखिएको थियो। यस्तै विषयको अध्ययन तथा आवश्यक अनुसन्धानका लागि उपसमिति बनाइ खाँणलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।
सांसद खाँणलाई दिइएको यो जिम्मेवारीका विषयमा भने विवाद सुरु भइसकेको छ। नक्कली भुटानी शरणार्थी प्रकरण र सम्पत्ति शुद्धीकरण मुद्दासँग सम्बन्धित अनुसन्धानको घेरामा रहेकी व्यक्तिलाई नै छानबिनको जिम्मेवारी दिइएको भन्दै लेखा समितिको निर्णयका विषयमा सार्वजनिक रूपमा प्रश्न उठ्न थालिसकेका छन्।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुका विषयमा उक्त प्रकरणमै अनुसन्धान हुनुपर्ने माग उठेको थियो।
सरकारले भैरहवा विमानस्थललाई एक ‘न्यूनतम क्षेत्रीय हब’ बनाउने दाबी गर्दै ठूलो लगानीका साथ निर्माण सम्पन्न गरे पनि हालसम्म सो विमानस्थलले अपेक्षित अन्तर्राष्ट्रिय उडान र व्यावसायिक सफलता हासिल गर्न सकेको छैन।
विमानस्थल निर्माणमा प्रयोग भएका प्रविधि, ठेक्का प्रक्रिया, ढिलो भएको निर्माण कार्य, तथा सञ्चालनपछि देखिएको सीमित उडानजस्ता विषयमा सार्वजनिक लेखा समितिले अनुसन्धान अगाडि बढाएको हो।
सार्वजनिक लेखा समितिका केही सदस्यहरू समेत यो नियुक्तिबारे असहमति जनाएका छन्।


