काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा सडकको लम्बाई ३४ हजार १ सय किलोमिटर पुगेको बताएका छन्। आर्थिक वर्ष २०७९/८० को फागुनसम्मको तथ्यांकमा आधारित भएर तयार गरिएको आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।
विश्व अर्थतन्त्रमा आएको संकुचनले निर्माण क्षेत्र, थोक तथा खुद्रा व्यापार र औद्योगिक उत्पादनमा आएको कमी कारण २.१६ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हुने प्रस्तुत आर्थिक सर्वेक्षेणले उल्लेख गरेको छ।
विदेशी मुद्रा सञ्चिति घट्न गएकाले आयातमा गरिएको नियमन तथा प्रतिबन्धका कारण हाल विदेशी मुद्राको सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त रहेको बताइएको छ।
मागमा आएको संकुचन र आर्थिक गतिविधिमा आएको शिथिलताले दबाब सृजना हुन गएको अर्थमन्त्रीद्धरा प्रस्तुत आर्थिक सर्वेक्षणमा भनिएको छ। अन्तर्राष्ट्रियस्तरमा रहेको मूल्यवृद्धिको असर नेपाली अर्थतन्त्रमा परेको भन्दै अर्थमन्त्री महतले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा सुधार हुँदै गएको र मूल्य घट्ने क्रम जारी रहे मूल्यमा परेको दबाब कम हुँदै जाने उनले बताएका छन्।
कोभिड १९ को प्रभाव हुँदै गएसँगै पर्यटन बढ्दै गएको , सडक संरचना ३४ हजार १०० किलोमिटर पुगेको, कुल विद्युत जडित क्षमता २ हजार ६६६ मेगावट पुगेकाले वर्षायाम विद्युत निर्यात समेत सुरु भएको,विद्यालयमा खुद भर्ना दर बढेको, बालमृत्युदर र मातृमृत्य दर घटेको आर्थिक सर्वेक्षणमा उल्लेख गरेका छन्।


