काठमाडौँ। गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध पार्टी कार्यालयमा बोलाएर नक्कली पीडित खडा गर्न खोजिएको आरोप लगाएका छन्।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन्। उनले प्रमाणबिना चरित्र हत्या गर्नु संसद्को मर्यावादविपरीत भएको समेत बताएका छन्।
‘केही पार्टी कार्यालयमा नक्कली र तथाकथित पीडितहरूलाई बोलाएर, तथाकथित जाहेरी लेखेर मेराविरुद्ध जाहेरी दिने तयारी गरिएको छ। कुन पार्टी कार्यालयमा त्यस्तो काम भइरहेको छ, मलाई जानकारी छ। नक्कली पीडितहरूलाई खडा गराउनेहरूलाई पत्ता लगाएर कारबाही गरिनेछ,’ उनले भने।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको भन्दै राजीनामा नदिने दोहोर्याएका छन्।
‘ममाथि कुनै तथ्य र प्रमाणसहित दोष देखिन्छ भने म कुर्सीमा बस्न अयोग्य ठहर्छु, त्यो मलाई थाहा छ। तर, अड्कल र आशङ्का गरेर कुनै प्रमाण वा जाहेरी नै नभएको, उजुरी नै नभएको विषयमा पद त्याग गर्नुपर्ने परिपाटी लोकतन्त्रको मान्यता होइन ’ उनले भने।
गृहमन्त्री लेखकले आफूप्रति राजनीतिक प्रतिशोध नसाँध्न आग्रह समेत गरका छन्।


