काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कुलिङ पिरियडका कारण निजामती सेवा विधेयक रोकिएको भन्ने कुरामा कुनै सत्यता नरहेको जिकिर गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवा विधेयक चाँडै पारित हुने जिकिर गर्दै कुलिङका कारण नअड्किएको दाबी गरेका हुन्।
सरकारले विधेयक रोक्नुपर्ने कुनै कारण नभएको उनको जिकिर छ।
‘कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक रोकिएको भन्ने कुरामा सत्यता छैन,’ उनले भने।
मन्त्रालयमा महत्त्वपूर्ण कार्यक्रम परेका कारण असार ३ गतेको कार्यसूचीबाट उक्त विधेयक हटाइएको उनको जिकिर छ।
मन्त्री गुप्ताले संसदीय समितिबाट पारित विधेयकमा फुलस्टप र कमा पनि परिवर्तन नहुने जिकिर गरे।
विगत ९ वर्षदेखि अलपत्र विधेयक ठूलो मेहनतका साथ राज्य व्यवस्था तथा सुशासन समितिद्वारा बहुमतले पारित भएको स्मरण गर्दै सो विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए।


