बुटवल- नेकपा (एस) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै गरेको टिप्पणीले पार्टीमा खैलाबैला उत्पन्न भएको छ। नेपालतर्फ लक्षित गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ कडा अभिव्यक्ति दिएपछि यसले पार्टीमा तरंग पैदा गरेको हो।
झाँक्रीको उक्त अभिव्यक्ति शनिवारको हो। नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले उक्त टिप्पणी गरेकी थिइन्।
उनले पार्टीलाई पुनर्गठन गर्नुपर्ने पनि बताएकी थिइन्। यसका लागि ‘अर्ली महाधिवेशन’ गर्नपर्ने झाँक्रीको प्रस्ताव छ।
नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्ट प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरपछि उनले नेतृत्वमा चुनौती र संकट आएको भन्दै पार्टीलाई पुनर्गठन गर्नपर्ने माग अघि सारेकी हुन्। अध्यक्षकै कारण पार्टीमा संकट आएको पनि उनको भनाइ छ।
झाँक्रीले मन्तव्य दिएको उक्त कार्यक्रममा नेकपा एस उपमहासचिव मेटमणि चौधरी प्रमुख अतिथि थिए। झाँक्रीको कडा टिप्पणीलाई गुपचुप बनाउने प्रयास पनि नेकपा एसले गरेको थियो। तर नेकपा एस गोरखाकी अगुवा रेखा तामाङ लोप्चनले आफ्नो फेसबुक वालमा झाँक्रीको भिडियो अपलोड गरिदिएकी छन्।
झाँक्रीको उक्त अभिव्यक्तिविरुद्ध नेकपा एसका नेता-कार्यकर्ताहरूले कडा शब्दमा झाँक्रीको टिप्पणी सामाजिक सञ्जालमा गरिरहेका छन्।
यस्तो थियो झाँक्रीको टिप्पणी
पार्टी बनाउने….यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ। पार्टीमा अर्को ठूलो संकट छ। तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं। अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ। कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ। कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ। अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ। तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ। होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न…।


