काठमाडौँ- नेपालबाट मधेशलाई अलग गर्ने विवादित अभिव्यक्ति दिएका जनता समाजवादी पार्टी, मधेश प्रदेश अध्यक्ष अशोक यादवको बचाउमा माओवादीसहित ६ दल उत्रिएका छन्।
यादवको बचाउमा माओवादी, नेकपा एससहितका ६ दलले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालबाट मधेश अलग गर्ने धम्की दिने यादवको बचाउमा लागेका हुन्।
उनीमाथि विभेदकारी नश्लीय सोच साँधिकएको आरोप लगाउँदै उक्त कदम नसच्चिएमा कडाभन्दा कडा सडक संघर्ष गर्न बाध्य हुने चेतावनी पनि ६ दलले दिएका छन्।
‘विभेदकारी नश्लीय सोच नसच्चिएमा कडाभन्दा कडा सडक संघर्ष गर्न बाध्य हुनेछौं,’ विज्ञप्तिमा भनिएको छ।
पूर्वाधार विकास कार्यालयलगायत विभिन्न कार्यालयका कर्मचारीको मोनोपोली, लुटतन्त्र, भ्रष्टाचारलगायत जिल्ला प्रहरी कार्यालयसमेतले आम जनताहरुलाई झुठा मुद्दामा फसाउने कार्य गरिरहेको उनीहरूको आरोप छ।
६ दलको विज्ञप्तिमा उल्लेख छ, ‘उहाँमाथि लगाईएको झुठा मुद्दा खारेजी गरी, जिल्ला प्रहरी प्रमुखलाई अविलम्ब कर्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माँग गर्दछौं। छानविन समिति गठन गरी सत्य तथ्य उजागर गर्न माग गर्दछौं।’
विज्ञप्तिमा जसपाका जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव, नेसपाका जिल्ला अध्यक्ष जितेन्द्रकुमार साह, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शिवपूजन राय, नेकपा एसका जिल्ला प्रतिनिधि सञ्जीव यादव, लोसपाका जिल्ला सचिव मिथलेश यादव र जनमत पार्टीका दिलीप कर्णले हस्ताक्षर गरेका छन्।
६ दलको विज्ञप्ति अनुसार २०८२ असार १९ गते पूर्वाधार विकास कार्यालयमा राती प्रहरी परिचालन गरिएको थियो। कार्यालय प्रमुखले मेन गेटमा ताल्चा लगाई कार्यालय सञ्चालन गरिरहेको भन्दै जसपा प्रदेश अध्यक्ष अशोक यादव जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कालाई फोन गरेका थिए। फोनमा उनले खड्कालाई गालीगलौजगरेको भन्दै प्रहरीले उनको खोजी थालेको थियो।
यसपछि फरार बनेका यादवले अज्ञातस्थलबाट भिडियो सार्वजनिक गर्दै नेपालबाट मधेश टुक्रिने अभिव्यक्ति दिएका थिए। यादवमाथि प्रहरी प्रशासनले दुर्व्यवहारको आरोप पनि ६ दलले लगाएका छन्।
यादवमाथि लागेको आरोप फिर्ता लिएर झुटा मुद्दा खारेज गरी जिल्ला प्रहरी प्रमुख खड्कालाई कारबाहीको दायरामा ल्याउन ६ दलको माग छ।
उता यादवविरुद्ध भने हालसम्म ७ वटा आपराधिक मुद्दा दर्ता भइसकेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार यादवविरुद्ध एक चोरी, ५ अभद्र व्यवहार र एक ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलिसकेको छ।
तत्कालीन चक्रघट्टा गाविस–७ मा जग्गा विवादमा राजनारायण रायको जाहेरीले उनीमाथि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलेको थियो।
त्यस्तै २०५७ पुस ८ मा नथुनी साहको जाहेरीमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको थियो।
मिति २०६६ असोज १० गते जिल्ला शिक्षा कार्यालयका लेखापालको साथबाट एक लाख ५० हजार खोसेको आरोप उनीमाथि थियो। उक्त घटनामा उनीमाथि चोरीसम्बन्धी मुद्दा चलेको प्रहरीले जनाएको छ।
२०७२ पुस ५ गते जिल्ला प्रशासन कार्यालयको नागरिकता तथा राहदानी फाँटमा प्रवेश गरी कम्प्युटर तोडफोड गरी क्षति पु¥याएको आरोप पनि यादवमाथि छ। यो घटनामा उनीमाथि अभद्र मुद्दा चलेको डीएसपी राईले बताएका छन्।
यस्तै २०७३ साउन १३ गते सिँचाइ कार्यालयमा प्रवेश गरी कर्मचारीहरूलाई धाकधम्की दिएको आरोपमासमेत उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ।
ड्युटीमा खटिएका प्रहरी टोलीमाथि चेकजाँच गर्ने क्रममा गालीगलौज तथा हातपात गरेको आरोपमा २०७३ मंसिर २९ मा उनीमाथि अभद्र व्यवहार मुद्दा चलेको प्रहरीले जनाएको छ।
गत बिहीबार राति एसपी खड्कालाई ‘लुटेरा’ भन्दै गालीगलौज गरेपछि उनलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको थियो। यसपछि उनी फरार छन्।


