काठमाडौं: सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले राजधानीको ठमेलमा रहेको होटल आर्टस् काठमाडौंको सम्पत्ति लिलाम गर्ने भएको छ। गोरखाका चिरिञ्जीवी भट्टको स्वामित्वमा रहेको होटल आर्टसले ऋण नतिरेपछि लिलामी प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ।
बैंकले भट्टको नाममा डिल्लीबजार मालपोत कार्यालयमा दर्ता भएको १५ रोपनी जग्गा र सोमा बनेको भवन लिलाम गर्न लागेको हो। यस्तै लक्ष्मी भट्टको नाममा दर्ता रहेको एक रोपनी जग्गा र सोमा बनेको भवन पनि लिलामी गर्न लागेको बैंकल जनाएको छ। बैंकले जग्गाको न्यूनतम् मूल्य ४८ करोड १७ लाख रुपैयाँ तोकेको छ।
जग्गा लिने व्यक्तिले उक्त मूल्य भन्दा बढी रकम कबोल गर्नुपर्ने बैंकले जनाएको छ।
भट्टले ओभरड्राफ्ट, कोभिड र आवधिक शीर्षकमा ऋण लिएर नतिरेको जनाएको छ। लिखित तथा मौखिक ताकेता गर्दा कर्जा चुक्ता नभएको, धितो सम्पत्ति लिलाम गर्न ३५ दिनको सूचना प्रकाशित गर्दासमेत कर्जा असुल हुन नसकेकोले बैंकको भनाइ छ। बैंकले होटलका सञ्चालक भट्टलाई १५ दिनभित्र सम्पर्क गरी सम्पूर्ण सांवा तथा कर्जा चुक्ता गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुर चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिन भनेको छ।
यदी चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ। लिलाममार्फत बिक्री हुन नसकेका धितो सम्पत्ति बैंकको अनुकुल समयमा बैंक आफैले सकार गरिलिन सक्ने वा असुली न्यायाधिकरणमा मुद्दा दायर गर्ने चेतावनी बैंकले दिएको छ।
सूचना बमोजिम १५ दिनभित्र चुक्ता नभएका कर्जाहरुको बैंकमा धितो रहेको सम्पत्ति सकार गरी बिक्री गर्न शिलवन्दी बोलपत्र आब्हान गर्ने बैंकले जनाएको छ।
लामो समयदेखि कार्गो र गार्मेन्ट व्यवसायमा संलग्न गोरखाका चिरञ्जीवी भट्टले २०७२ सालमा ठमेलमा यो होटल खोलेका थिए। होटलमा स्टान्डर्ड, डिलक्स र स्वीट गरी ६० वटा रुमहरु रहेका छन्। होटलको आठ तले भवनबाट काठमाडौं उपत्यकाको पुरै भू-भाग देख्न सकिन्छ।



