काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरी न्यौपाने निर्विरोध बनेकी छन्। मनोनयनका लागि मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको समयमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएकी हुन्।
समिति सभापति पदका लागि न्यौपानेको मात्र उम्मेदवार परेको प्रतिनिधिसभा सचिव हर्कराज राईले जानकारी दिए।
संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी थिइन्। यसअघि समितिको सभापति रहेका कांग्रेस सांसद रामहरि खतिवडा न्यौपानेको प्रस्ताव बसेका थिए। समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन्।
न्यौपानेको एकल उम्मेदवारी परेर समिति सभापतिमा निर्विरोध चयन भए पनि बुधबार मात्र उनी निर्वाचित भएको औपचारिक घोषणा हुनेछ।
यसअघि कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएका थिए। यसअघि मंगलवार बिहान पार्टी सभापति शेरबहादुर देउवाले बैठक राखेर न्यौपानेलाई अघि सारेका थिए।


