काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण संरचनामा परिवर्तन भइरहेको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा क्रमशः घट्दै गएको छ भने जलविद्युत कम्पनीको बढ्दै गएको देखिएको छ।
केही वर्षअघिसम्म ७१ प्रतिशत बढी बजार पुँजीकरण हिस्सा भएको बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुको हिस्सा निरन्तर घटेर गत असारसम्म ५४.१ प्रतिशतमा सीमित भएको नेप्सेले जनाएको छ।
यसबीचमा जलविद्युत कम्पनीको हिस्सा बढेर १५.३ प्रतिशत पुगेको छ । नेपाल धितोपत्र बोर्डमा ३७ जलविद्युत कम्पनीको १८ अर्ब २२ करोड रुपैयाँबराबरको साधारण सेयर (आईपीओ पाइपलाइनमा छ।
यसैगरी लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत रहेको छ। अहिलेसम्म उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा विस्तार हुन सकेको छैन् । नेप्सेका अनुसार उद्योग क्षेत्रको बजार पुँजीकरण हिस्सा ५.४ मात्र छ।
व्यापारिक संस्थाको ५, होटेलको २.७ तथा अरू समूहका कम्पनीको हिस्सा ९.८ प्रतिशत छ।
गत असार मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। सूचीकृतमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन । जलविद्युत कम्पनीको संख्या बढेर ९१ पुगेको छ।
२३ उत्पादन तथा प्रशोधन उद्योग नेप्सेमा सूचिकृत छन् । विभिन्न १७ उत्पादन उद्योगहरुले २७ अर्ब ५६ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । आधादर्जन उद्योगले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न बोर्डसँग स्वीकृती मागेका छन्।
सात होटेल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र आठ अरू समूहका छन्। ०८१ असारसम्म सूचीकृत कम्पनीको संख्या २७० थियो।
०८१ असार मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ उत्पादन (जीडीपी) को ६२.२५ प्रतिशत थियो। यो ०८२ असार मसान्तमा ७६.२५ प्रतिशत पुगेको छ।
गत आर्थिक वर्ष २०८१/०८२ मा ८३ अर्ब १९ करोडको धितोपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ। ४० अर्ब २१ करोडबराबरको साधारण सेयर, २४ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस सेयर रहेको छ।
यसैगरी १३ अर्ब २३ करोडबराबरको हकप्रद सेयर, एक अर्ब २५ करोडबराबरको म्युचुअल फन्ड, ११ करोड २० लाखबराबरको थप निष्कासन (एफपीओ) र तीन अर्ब ९६ करोडबराबरको अरू सेयर गरी कुल ८३ अर्ब १९ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएका नेप्सेले जनाएको छ।


