काठमाडौँ: गत भदौ २३ गते जेनजी प्रदर्शनीमा भएको सरकारी दमनका कारण २४ भदौमा सार्वजनिक र निजी क्षेत्रमा आगजनी र तोडफोड भयो। निजी क्षेत्रमा भएको तोडफोड र आगजनीका कारण एकैदिन १३ हजार बढीको रोजगारी प्रभावित भएको छ।
प्रदर्शनकारीहरूले भाटभटेनीका २१ वटा शाखा, २५ वटा होटल, सुजुकी, टाटा, केटीएम, महिन्द्रालगायतका शोरुममा आगजनी भएको थियो। देशभर विभिन्न बैंक तथा वित्ती संस्थाका ६८ शाखामा क्षति पुगेको छ। यसैगरी खुमलटार र बाँसबाँरीस्थित युलेन्स, पुरानो बानेश्वरस्थित ग्लोबल कजेल अफ म्यानेजमेन्ट, कालोपुलस्थित जेभियर इन्टरनेसनल, कुपान्डोलस्थित नाइटिंगेललगायत शैक्षिक संस्थामा आगजनी भएको छ।
आइतबारसम्मको तथ्यांकअनुसार भाटभटेनीका ५ हजार, अटोमोबाइल क्षेत्रका ५ हजार, होटल क्षेत्रमा तीन हजार र बैंकिङ क्षेत्रका १ हजारसहित १२ हजार बढी कामदारको रोजगारी प्रभावित भएको छ।
रोजगारी प्रभावित भए पनि निजी क्षेत्रले तत्काल कामदारहरूलाई जागिरबाट नहटाउने बताएका छन्। भाटभटेनी सुपरमार्केटले क्षति भएका शाखाका कर्मचारीलाई अन्य शाखामा जागिर दिने बताएको छ। यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले पनि शाखा तथा एक्सटेन्सन काउन्टरमा कार्यरत कर्मचारीलाई अन्य शाखा र एक्सटेन्सन काउन्टरमा कामदारहरूलाई जागिर दिलाउने तयारी गरेका छन्।
यसैगरी निजी क्षेत्रका अन्य घरानाले पनि रोजगारी प्रभावित भएका कर्मचारीलाई तत्काल अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी गरेका छन्।


