काठमाडौं । गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपअन्तर्गतको सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले नयाँ आयोजनामा लगानी गर्न लागेको छ। सानिमा मिडिलले तमोर व्योमा हाइड्रो प्रालिको ५५ प्रतिशत स्वामित्व खरिद गर्ने भएको हो। सानिमा मिडिल तमोरको बिहीबार बसेको सञ्चालक समिति बैठकले तमोर व्योमा हाइड्रोमा उक्त स्वामित्व खरिद गर्ने निर्णय गरेको हो।
सानिमा मिडिलले ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना सफलतापूर्वक निर्माण सम्पन्न गरी हाल सञ्चालन गरिरहेको छ। व्यवसायिक उद्देश्य, दीर्घकालीन रणनीति र व्यवसाय विस्तारका लागि अन्य जलविद्युत आयोजनाहरूको विकास निर्माणको क्षेत्रमा समेत सक्रियता बढाउन कम्पनीमा लगानी गर्न लागेको सानिमा मिडिल तमोरले जनाएको छ।
तमोर व्योमाले ४७ मेगावाट क्षमताको दूधकोसी–४ जलविद्युत आयोजना बनाउन लागेको छ ।
प्रतिस्पर्धाबाट उक्त आयोजना व्योमा हाइड्रोपावर लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड जेभीले पाएको हो। प्रतिस्पर्धाबाट अग्रिम बढी रकम (अप फ्रन्ट कस्ट) कबोल गरेका व्योमा र सानिमा मिडिल जेभीले आयोजना बनाउन पाएका हुन्।
सानिमा मिडिलले आयोजनाको विकासकर्ता व्योमा हाइड्रोपावरमा ६ प्रतिशत स्वपुँजी (इक्विटी) लगानीको प्रस्ताव गरेको थियो । पछि सेयर संरचनामा परिवर्तन गरेको हो।
दूधकोसी आयोजना बनाउन भियोमा र सानिमा मिडिल, सुपरमादी हाइड्रोपावर लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेड संक्षिप्त सूचीमा परेका थिए । तर, आयोजना बनाउने जिम्मा अन्तिममा व्योमा र सानिमा मिडिल जेभीले पाएका हुन्। दुबैं कम्पनीले आयोजना बनाउन स्पेशल प्रपोज भेहिकलअन्तगर्त तमोर व्योमा हाइड्रोपावर स्थापना गरेका छन् । कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
सानिमा मिडिल तमोरले गत आर्थिक वर्षमा ४० करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ। कम्पनीले बिजुली बेचेर गत आर्थिक वर्षमा एक अर्ब ९७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३३ करोड २५ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी १२.१७ र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ रहेको सानिमा मिडिल तमोरले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
२.५ मेगावाटको सुनकोसी जलविद्युत आयोजनाबाट जलविद्युतमा प्रवेश गरेको सानिमा ग्रुपले २२ मेगावाटको सानिमा माई, ७ मेगावाटको माइक्यसकेड, १४ मेगावाटको मैलुङखोलाका साथै ७३ मेगावाटको तमोर आयोजना सञ्चालन गरिरहेको छ।
यस्तै ६० मेगावाटको जुमखोला आयोजनाको पनि अध्ययन गरिरहेको छ। यस्तै सानिमा ग्रुपको सनिमा बैंक, सानिमा जनरल इन्स्योरेन्स लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडलगायत वित्तीय क्षेत्रमा बलियो उपस्थिती रहेको छ।


