काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिनतर्फ गम्भीर हुन आग्रह गरेका छन्।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आागजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको निरिक्षण गर्दै उनले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सरोकारवाला सबैलाई गम्भीर हुन आग्रह गरेका हुन्।
उनले जेएनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यीक्तको निजी सम्पत्तिमाथि भएको आगजनी र तोडफोडले दैनिक उत्पादन र रोजगारीमा असर परेको बताए।
नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालले बताए।
“नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ। यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ। सरकार, राजनीतिक दलहरू र सरोकारवालाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु। ” अध्यक्ष ढकालले भने।
अध्यक्ष ढकालले नेपालका वैदेशिक लगानी भित्र्याउन तथा आन्तरिक लगानी प्रर्वद्धन गर्न महासंघले निरन्तर पहल गरे पनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै क्षेत्रमा नकारात्मक सन्देश जाने बताए।


