काठमाडौँ: हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौँ महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्। यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपांगता भएका व्यक्ति, एचआईभी संक्रमित २ जना व्यक्ति रहेका छन्।
महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी दिएको हो। यस वर्ष १ लाख ९४ हजार १ सय ९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। तीमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन्। महानगरपालिकाको स्वास्थ्य विभागले गरेको वार्षिक समीक्षा अनुसार यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता तथा नवीकरण गरिएका छन् भने १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ।
१ हजार ८७ जनाको विपन्न नागरिक उपचार सिफारिस हुँदा वेवारिसे, विपन्न र वेसहारा नागरिकका लागि निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ। यस्तै, नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरिएको छ। किशोरीहरूको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरूको परीक्षण गरिएको छ। १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराइएको छ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा अनुसार यस वर्ष वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स–रे सेवा प्रारम्भ गरिएको छ। महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरेको छ।
३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन गरिएको थियो। यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा रहेका छन्। यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरूको लगत संकलन थालिएको छ। २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको छ।
पर्व तथा विभिन्न अवसर पारेर २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिब १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरिएको छ। डेङ्गी रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन समेत गरिएको छ।
यस वर्ष खोप सेवा प्राप्त गर्नेहरूको संख्या १६ हजार १८८ जना रहेको छ। स्वयंसेविका मार्फत ५९ हजार ६२० जनालाई सेवा प्रदान गरिएको तथ्यांक छ। १० वर्षदेखि १९ वर्षसम्म उमेर समूहका किशोर–किशोरी पोषण कार्यक्रमका लक्षित वर्गको संख्या ७३ हजार ८९२ जना थियो। यस समूहका किशोरीहरूलाई आइरन र फोलिक एसिड वितरण गरिएको छ। एक वर्ष अवधिमा १३ हजार ६६० जना शिशुको जन्म भएको तथ्यांक छ। शिशुको सुरक्षित जन्मका लागि गर्भवती आमालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो। सुत्केरी आमालाई भिटामिन ‘ए’ र आइरन चक्की प्रदान गरिएको छ। यस्तै, उहाँहरूलाई उत्तरप्रसुति जाँच सेवा पनि प्रदान गरिएको छ।
खोप अभियान अन्तर्गत २०७३ साल वैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाका लागि ओरल पोलियो भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको थियो। २०८१ जेठ १३ गतेदेखि १९ गतेसम्म चलेको कार्यक्रममा २ लाख ३६ हजार १७२ जना बालबालिका अनुमान गरिएकोमा २ लाख १४ हजार १६५ जना, अर्थात् ९० दशमलव ६८ प्रतिशतलाई खोप दिइएको छ। पाँच वर्षमुनिका बालबालिकामा हुने रोग नियन्त्रणका लागि ६६ हजार ५१९ जना लक्षित बालबालिका थिए। एमोक्सिसिलिनबाट ११४ जनाको उपचार गरिएको छ। १ हजार ९९१ जना बालबालिका पखालाका कारण उपचारका लागि भर्ना भएका मध्ये १ हजार ९५६ जनालाई जिङ्क र ओरल रिहाइड्रेसन थेरापीबाट उपचार गरिएको छ।
प्रजनन उमेरका महिलाहरूका लागि गरिएको क्यान्सर परीक्षण शिविरमा ३ हजार १६ जनाको नाम दर्ता गरिएको थियो। तीमध्ये ६७० जनाको मेमोग्राम गरिएको छ। ३७० जनाको स्तन परीक्षण गरिएको छ। पाँच जनाको स्तनको बायोप्सी गरिएको थियो। तीमध्ये १ जनामा क्यान्सर देखिएको विभागले जनाएको छ। सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्रा गरी ११ हजार ६३७ जनाको आँखा परीक्षण गरिएको थियो।
नसर्ने खालका रोगको कारण पत्ता लगाउन १९ हजार २७७ जनामा धूम्रपान र मद्यपान सेवनको सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा सहभागीमध्ये ८ दशमलव ४ प्रतिशतले नियमित सेवन गर्ने गरेको पाइएको छ। ७८ दशमलव ६ प्रतिशतले कहिल्यै सेवन नगरेको बताएका छन्। यस्तै, २३ दशमलव १ प्रतिशतले कहिलेकाहीँ मद्यपान सेवन गर्ने गरेको र ६८ दशमलव ५ प्रतिशतले कहिल्यै मद्यपान नगरेको बताएका छन्।
यस आर्थिक वर्षका लागि महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि ९० करोड ५१ लाख ५७ हजार ३ सय रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसमा आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख ८ हजार ८ सय रुपैयाँ, नेपाल सरकारबाट प्राप्त ९ करोड ३८ लाख ६८ हजार ५ सय रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त २ करोड ९१ लाख ८० हजार रुपैयाँ थियो।
यसरी विनियोजित रकममध्ये आन्तरिक स्रोततर्फ ५५ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको छ। नेपाल सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९३ दशमलव २६ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ। प्रदेश सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९६ दशमलव ५१ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ। कुल विनियोजित रकमको वित्तीय प्रगति हेर्दा ६५ दशमलव ८६ प्रतिशत प्रगति भएको छ।


