काठमाडौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले देशमा पहिलोपटक अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति नबिल बैंकलाई प्रदान गरेको छ। बोर्डले मंसिर ५ गते ‘८% नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नामक शेयर निष्काशनका लागि स्वीकृति दिएको हो।
स्वीकृतिअनुसार नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्नेछ। यो शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यको ५ करोड कित्ता परिपत्र विधिबाट बिक्री गरिनेछ। बैंकले यसमा वार्षिक ८% लाभांश प्रदान गर्नेछ। उक्त निष्काशनको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहनेछ।
अविमोच्य भएकाले यस शेयरको भुक्तानी अवधि तोकिएको हुँदैन। साथै, असञ्चिति प्रकृतिको भएका कारण कम्पनीले मुनाफा कमाएको वर्षमा मात्र लाभांश वितरण गर्छ, बाँकी वर्षको लाभांश संकलित हुँदैन। नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार आवश्यक पर्ने अवस्थामा यो अग्राधिकार शेयर संस्थापक समूहको साधारण शेयरमा रूपान्तरण गर्न सकिनेछ।
परिपत्र विधिबाट निष्काशन हुने भएकाले केवल संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउनेछन्। व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना तथा धितोपत्र व्यवसायीहरूलाई यसमा लगानी गर्न नपाइने व्यवस्था गरिएको छ। दोस्रो बजारमा सूचीकृत हुने भएकाले संस्थागत लगानीकर्ताले खरीद–बिक्री गर्न सक्नेछन्।


