२०८३ असोज १९ गते सोमबार

दैलेखको प्राकृतिक ग्यास उत्पादन अनिश्चित, आयल निगमले देखायो उत्पादनमा चासो

 |  रेम बिक
Sanket

रेम बिक

काठमाडौँ, मङ्सिर ८
dailekh_gas

काठमाडौँ: दैलेखको भूगर्भमा १ अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको पुष्टि भइसक्दा पनि यसको व्यावसायिक उत्पादन भने अनिश्चित बनेको छ। चिनियाँ सरकारको सहयोगमा अन्वेषणको पहिलो चरण सफलतापूर्वक सम्पन्न भए पनि नेपाल सरकारले उत्पादनको स्पष्ट ‘मोडालिटी’ तय गर्न नसक्दा मुलुकको अर्थतन्त्र कायापलट गर्न सक्ने यो परियोजना अलपत्र पर्ने जोखिम बढेको हो।

खानी तथा भूगर्भ विभागले चिनियाँ सरकारको सहयोगमा दैलेखमा प्राकृतिक ग्यास भण्डार रहेको पुष्टि गरेको थियो। विभागसँगको सहकार्यमा चिनियाँ कम्पनीले गरेको प्रारम्भिक अध्ययन रिपोर्टले करिब १ अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यास रहेको जनाएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले त्यसले नेपालमा ५० वर्षको माग धान्ने अनुमान गरिएको बताएका थिए।

धेरै मात्रामा प्राकृतिक ग्यास भण्डार रहेको रिपोर्ट आए पनि व्यवसायिक उत्पादनको सन्दर्भमा हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन। खानी अन्वेषणपछि चिनियाँ सरकारलाई उत्पादन परीक्षणका लागि सरकारले आग्रह गरे पनि ५ महिनासम्म त्यताबाट कुनै प्रतिक्रिया आएको छैन।

‘हामीले दैलेखमा प्राकृतिक ग्यास भण्डार रहेको र त्यसलाई व्यवसायिक रूपमा प्रयोग गर्न सकिने पहिलो चरणको रिपोर्ट सार्वजनिक गरिसकेका छौँ,’ खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापितले भने, ‘तर खानीलाई व्यवसायिक रूपमा कसरी सञ्चालन गर्ने भन्नेमा अझै टुंगो लाग्न सकेको छैन।’

महानिर्देशक नापितले दैलेखको प्राकृतिक ग्यास भण्डारको सञ्चालनका लागि विभागले सरकारलाई प्रारम्भिक सल्लाह दिएको भए पनि त्यसको मोडालिटिमा सरकारले काम नगरेको बताए। ‘विभागको तर्फबाट हामीले लगभग सबै काम पूरा गरिसकेका छौँ,’ उनले भने, ‘तर यसको सञ्चालनको मोडालिटी के हुने भन्ने विषयमा विभागले हेर्दैन।’ पेट्रोलियम पदार्थको अन्वेषण, उत्पादन र वितरण पेट्रोलियम ऐनअनुसार हुने भए पनि दैलेखको ग्यास भण्डारको सन्दर्भमा क्याबिनेटबाटै यसको टुंगो लगाउनुपर्ने उनले बताए।

सरकारले नेपाल आयल निगमको इन्जिनियरिङ तथा परियोजना विभागका निर्देशक विनितमणि उपाध्यायको नेतृत्वमा एक समिति गठन गरेर दैलेखको परियोजना सञ्चालनसम्बन्धमा राय मागेको थियो। यो समितिले केही दिन अगाडि नै खानी सञ्चालनसम्बन्धी मोडालिटीसहितको सुझाव सरकारलाई दिइसकेको छ। ‘लामो समयदेखि पेट्रोलियम पदार्थको वितरण गर्दै आएको नेपाल आयल निगमकै शतप्रतिशत लगानीमा यो परियोजना सञ्चालन गर्दा उपयुक्त हुन्छ भन्ने राय हामीले प्रतिवेदनमार्फत बुझाएका छौँ,’ समितिका संयोजक उपाध्यायले भने।

यद्यपि खानी तथा भूगर्भ विभागले भने खानी सञ्चालनका लागि आर्थिक र प्राविधिक रूपमा परिपक्व पक्षलाई मात्र यसको जिम्मा दिन सकिने जनाएको छ। ‘प्राकृतिक ग्यास उत्पादनको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा रिकग्नाइज पार्टीलाई दिनुपर्छ भन्ने हाम्रो राय हो,’ विभागका महानिर्देशक नापितले भने– ‘यो धेरै जोखिमयुक्त परियोजना हो।’

सरकारलाई राय दिने पछिल्लो समितिमा विभाग समेत जोडिएको थियो। सोही समितिले नेपाल आयल निगमलाई नै यसको मुख्य ‘स्टेकहोल्डर’ मानेको छ। आयल निगमलाई जिम्मा दिँदा यसको प्राविधिक पक्षमा उसले अन्तर्राष्ट्रिय अनुभवी कम्पनीहरूसँग सहकार्य गर्न सक्ने समितिका संयोजक उपाध्यायले बताए।

यता नेपालमा इन्धन आपूर्तिको ‘सोल’ जिम्मा पाएको आयल निगमले समेत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दैलेखको ग्यास भण्डार सन्दर्भमा आफूहरूले काम गर्न सक्ने भनेर जानकारी गराइसकेको छ। ‘डिसेम्बरसम्म दैलेखको ग्यास भण्डारको फाइनल रिपोर्ट आइसक्छ। र, इन्धन विक्री–वितरणको लामो अनुभव रहेको आयल निगमले नै दैलेखको खानीबाट उत्पादन र व्यवस्थापन गर्न सक्छ,’ निगमका प्रवक्ता मनोज ठाकुरले भने, ‘निगम यसको लागि आर्थिक रूपमा पनि बलियो छ र अनुभवका आधारमा पनि अन्तर्राष्ट्रिय कम्पनीहरूलाई समेट्न सक्छ।’

भारतीय आयल निगमसँगको लामो सम्बन्ध रहेको नेपाल आयल निगमले खानी सञ्चालनका लागि त्यहाँबाट प्राविधिक सहयोग लिन सक्ने जनाएको छ। यद्यपि चिनियाँ कम्पनीले पहिलो चरणको उत्खननमा काम गरेका कारण प्राविधिक सहयोग चिनियाँ पक्षबाट पनि लिन सकिने निगमले जनाएको छ।

सरकारले भने हालसम्म यस विषयमा विज्ञहरूको राय लिने बाहेक कुनै मोडालिटीलाई टुंगो लगाएको छैन। विज्ञहरूले आयल निगम बाहेक अर्को कुनै कम्पनी खडा गरेर सरकारले नै दैलेखको ग्यास भण्डारबाट उत्पादन गर्न सक्ने अथवा अनुभवी कम्पनीलाई ठेक्कामा लगाउन सक्ने राय समेत दिएका छन्। पेट्रोलियम पदार्थको उत्खनन्, उत्पादन गर्ने कुनै पनि सरकारी र निजी कम्पनीहरू नेपालमा भने छैनन्।

के–के उत्पादन हुन सक्छ दैलेखको प्राकृतिक ग्यास भण्डारबाट ?
दैलेखको प्राकृतिक ग्यास भण्डारबाट इन्धनको धेरै भेरियसन उत्पादन गर्न सकिने नेपाल आयल निगमका इन्जिनियरिङ तथा परियोजना विभाग प्रमुख विनितमणि उपाध्याय बताउँछन्।

उपाध्यायका अनुसार सो ग्यास भण्डारबाट पाइप नेचुरल ग्यास (पीएनजी) मार्फत घर–घरमै ग्यास पुर्‍याउन सकिन्छ। यसबाट उपभोक्ताहरूलाई निकै सहज हुनेछ। त्यस्तै कम्प्रेस नेचुरल ग्यास उत्पादन गर्न सकिन्छ, जुन अटोमोबाइलको लागि निकै महत्वपूर्ण हुन्छ र यसलाई विदेश निर्यात गर्न पनि सकिन्छ। त्यस्तै लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) फारममा यसलाई देश–विदेशमा निर्यात गर्न पनि सकिन्छ। ग्यासलाई माइनस १६१ डिग्रीमा चिस्याएर तरल बनाएर यसको ढुवानी गर्न सकिने विधिलाई एलएनजी भनिन्छ।

त्यस्तै प्राकृतिक ग्यासकै माध्यमबाट कृषि क्षेत्रलाई आवश्यक मल उत्पादन पनि गर्न सकिने उपाध्याय नेतृत्वको समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। यसरी उत्पादित मल नेपालसँगै अन्य देशमा पनि निर्यात गर्न सकिने र हाल नेपालमा देखिएको मलको कमी यसले पूर्ति गर्ने उपाध्यायको तर्क छ। साथै सो प्राकृतिक ग्यास भण्डारमार्फत १ सय मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिने समितिले दाबी गरेको छ।

प्रकाशित: २०८२ मङ्सिर ८ गते सोमबार ०५:१८
प्रतिक्रिया

थप समाचार

३ अर्ब ३५ करोडमा सिमरामा पाँचतारे होटल बनाउँदै भरलेली हस्पिटालिटी

होटल बनाउन ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। होटलको कुल कोठा संख्या ११८ रहेको छ।

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

बूढानीलकण्ठ फरेष्ट हिल्सले लक्जरी वेलनेस रिसोर्ट बनाउदै, लागत १ अर्ब ११ करोड

होटल बनाउन १ अर्ब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कूल लगानीमा स्वपुँजी र ऋण लगानी हिस्सा आधा हुने बूढानीलकण्ठ फरेष्ट हिल्सले जनाएको छ।

सेना, प्रहरी र सशस्त्रलाई पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास आर्थिक...

सीएसआरको पैसा कब्जा गर्ने सरकारको तयारी, प्रस्तावित कम्पनी विद्येयकमा निजी क्षेत्रको असहमति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको कम्पनी ऐनसम्बन्धी विधेयकको मस्यौदामा वार्षिक २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीले आफ्नो खुद नाफाको कम्तीमा १ प्रतिशत रकम ‘संस्थागत...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...
beema_pradhikaran
बीमा

रसुवा बाढीमा भएको क्षतिमा झण्डै २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ? 

काठमाडौँः गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना