काठमाडौं। काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ। सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुभारम्भ गरे।
सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ।
त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिइ मर्मत अगाडि बढाउन मोबाइल एप्स पनि सञ्चालनमा ल्याइएको छ।
जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ।
सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध कुमार देवकोटाले एम्बुलेन्सको प्रयोगबाट ३६५ दिन र २४सै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत सम्भार गरी सहज अवागमन सुनिश्चित प्रदान गर्न सकिने जानकारी दिए।
एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिनेछ। कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन्। भीडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिनेछ।


